नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको सहकार्य तथा थारु कलाकार समाज नेपाल, काठमाडौँको आयोजनामा सोमवार (२०८२ मङ्सिर ८ गते) महुली सामुदायिक विकास केन्द्र, महुलीबजार सप्तरीमा ‘थारु लोककला तथा मिथिला लोककला कार्यशाला’ सम्पन्न भएको छ । थारु कलाकार समाज नेपालका केन्द्रीय अध्यक्ष श्रवणकुमार चौधरी सभाध्यक्ष रहनुभएको कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका, सप्तरीका कार्यवाहक अध्यक्ष कल्पना चौधरीको प्रमुख आतिथ्य रहेको थियो । समारोहमा उहाँले यस कार्यक्रमले आफूहरूलाई थप जागरूक बनाएको बताउँदै आगामी दिनमा प्रतिष्ठानसँगको सहकार्यमा अन्य कार्यक्रमहरू गर्दै जाने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकलाका बहुआयामिक पक्षका विषयमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, कलाकार प्रसन्न चौधरी, छविल चौधरी, श्याम चौधरी, रामलगन मडरलगायतको विशेष सहभागिता रहेको थियो ।

