नेपाल ललितलकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य, कार्टुनिस्ट क्लब नेपालको संयोजन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबार (असोज २९, २०८०) ‘सञ्चार माध्यममा कार्टुन र आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अग्रज कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ प्रेस काउन्सिलले उहाँलाई विगत पाँच दशकदेखि कार्टुन क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप सम्मान गरेको हो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव थुम्केलीले पत्रकारितामा कार्टुनको महत्व विशिष्ट रहेको बताउँदै यसमा काउन्सिल, क्लब, नेपाल पत्रकार महासंघसँग मिलेर काम गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले कार्टुन छापेकै कारण जेल जानुपरेको थियो उसैलाई काउन्सिलजस्तो संस्थाले सम्मान गर्दैछ । यो निकै नै अनुकरणीय कार्य हो ।’ उहाँले राज्यबाट कार्टुनिस्टलाई अनावश्यक दबाब दिइने गरेको, बढ्दो प्रविधिको प्रयोगले कार्टुनलाई हल्का रुपमा लिइने र फोटोसफ एप्सजस्ता माध्यमबाट कार्टुनजस्तो बनाएर प्रचार गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । राजनीतिक सामाजिक र विकृति विसंगतिविरुद्ध कार्टुनले सशक्त आवाज उठाइरहेको बताउनुभयो ।
कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विश्वका कतिपय मुलुकमा कार्टुन छापेकै कारण हत्या हुने अवस्था भएता पनि नेपालमा त्यो अवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समयअनुसार पहिला कार्टुन छापिनै पथ्र्यो भने अहिले सामाजिक सञ्जालमा पोष्ट हुन थालेको छ । कार्टुनको मर्म भनेकै विकृति विसंगतिमाथि व्यंग्य हो ।’
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कार्टुन पत्रकारिता, कार्टुनको वर्तमान अवस्था, कार्टुनमा आचारसंहिता लगायतका विषयमाथि प्रकाश पार्नुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै कार्टुनको महत्व र आवश्यकताका बारेमा चर्चा गर्नुभयो । कार्टुनिस्ट क्लब नेपालका महासचिव रवि मिश्रले नेपाली पत्रकारितामा कार्टुनका सन्दर्भमा कार्टुनको परिभाषा, अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा कार्टुनको संक्षिप्त इतिहास, नेपाली कार्टुनको इतिहास, नेपाली पत्रकारितामा महिला कार्टुनिस्ट, पेसागत चुनौतीहरु, नगन्य पूर्णकालीन कार्टुनिस्ट, सेन्सरसिप र प्रतिबन्ध लगायतका विषयमा चर्चा गर्नुभयो ।
अग्रज कार्टुनिस्ट एवम् टिप्पणीकार रविन सायमीले प्रेस काउन्सिलले अभिव्यक्तिका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । अग्रज कार्टुनिस्ट अविन श्रेष्ठले पञ्चायतकालमा बामे सर्दै गरेको कार्टुन कलाले प्रजातन्त्रपश्चात् अभिव्यक्ति स्वतन्त्रतामा सशक्त कदम चालेर नयाँ कार्टुनिस्ट जन्मिएको स्मरण गर्नुभयो । उहाँले कार्टुनिस्टलाई बाँध्ने खालका गतिविधिमा प्रेस काउन्सिल ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्टुनक्षेत्रलाई व्यवस्थित ढंगले अगाडि बढाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
अग्रज कार्टुनिस्ट राजेश केसीले कार्टुन भनेकै प्रतिपक्ष भएकाले यो स्वभाविक रुपमा विवाद आएता पनि यससँग सम्बन्धित समस्याहरुलाई समाधान गर्न प्रेस काउन्सिल अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख प्राज्ञ सौरगंगा दर्शनधारीले कार्टुनिस्ट, प्रेस काउन्सिल तथा कला संस्थाहरुबीचको एकताको महत्वलाई जोड दिनुभयो । उहाँले कलाकार, सम्पादक र प्रकाशक सबैले कार्टुन सिर्जनामार्फत समाजसँग साझेदारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अग्रज कलाकार अशोकमान सिंले कार्टुन विधाको विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्टुनले सिर्जना र सन्देशलाई सँगसँगै लैजाने बताउनुभयो । उहाँले प्रेसले नियमन, नीतिगत सन्दर्भमा सचेत गराउने, संस्थागत प्रणालीबाट समाधान गरी त्रिकोणात्मक सन्तुलन गर्ने धारणा राख्नुभयो । ‘कलाकरले भावनामा व्यक्त गर्ने कुरालाई वैचारिक रुपमा पनि बुझ्न सक्नुपर्छ । विवेक र विवेचनाबाट व्यक्त कलाकारिताको महत्व हुन्छ’, कुलपति हार्तम्छालीले भन्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, अरुणा हिङमाङ, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाल, कार्टुनिस्ट रविन्द्र मानन्धर, अनुप गुरुङ, भानु भट्टराई, उमेशचन्द्र अधिकारी, सानुराज डंगोल, रामहरि रिमाल, पानसिं तमोर, सागर शाह लगायतको उपस्थिति रहेको थियो ।