‘संविधान दिवस २०८०’ को उपलक्ष्यमा बुधबार (असोज ३ गते) नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘लोकतन्त्र र संविधान विषयक’ ‘अन्तरकलेज पोस्टर कला प्रतियोगिता तथा प्रदर्शनी’ सम्पन्न भएको छ । प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गर्नुभयो । कार्यक्रममा बोल्दै कुलपति हार्तम्छालीले भन्नुभयो, ‘राष्ट्रिय महत्वको पर्वको रुपमा भएको कार्यक्रमले उर्वर प्रतिभालाई अगाडि सार्ने प्रयत्न गरेको छ ।’ उहाँले प्राप्त अधिकार २०७२ सालमा जारी भएको संविधानले प्रत्याभूत गरेको र यसलाई जनस्तरमा पु¥याउने क्रममा लोकतन्त्रलाई आत्मसात गरिएको जिकिर गर्नुभयो । कुलपति हार्तम्छालीले थप्नुभयो, ‘यसले समाज र कलाकारका हक अधिकारलाई सुनिश्चित गरेको छ । यसैले हामी तपाईहरुसँग जोडिएका हौ । किनकी तपाईहरु भनेको भोलिको नेतृत्व हो । हामीले सिर्जना गरेको कला, नाम, दाम सबै हो । तपाईहरुले निकै जटिल विषयवस्तुलाई पनि छोटो समयमा कला सिर्जना गर्नुभएको छ ।’
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उपकुलपति लालकाजी लामाले कार्यक्रमलाई विविधतासहित उल्लासमय बनाउने सन्दर्भमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानको बारेमा नयाँ ढंगले सोच्ने र हक, अधिकार स्थापित गर्ने कुरामा कला र कलाकार सचेत भएका छन् । यसैका आधार बनाएर गरिएको यस कार्यक्रम प्रभावकारी भएको मलाई लागेको छ ।’
यसैगरी सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले १९९७ सालमा चन्द्रमान सिंह मास्केलाई सर्वस्वसहित जेल हालेको प्रसंग उल्लेख गर्दै देशको परिवर्तनकारी आन्दोलनमा कलाकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विभिन्न समयमा भएका संघर्षले मौलिक अधिकारको प्रत्याभूत गरेको बताउनुभयो ।
निर्णायकको तर्फबाट बोल्दै प्राज्ञ सञ्जय राई वान्तवाले लोकतन्त्र र संविधानको विषयमा भएको प्रतियोगिताले नयाँ पुस्तालाई परिवर्तनका लागि भएका आन्दोलन र संविधानले प्रत्याभूत गरेको विषयबारे जानकारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जुन शीर्षक थियो त्यसले एक आपसमा अन्तरसम्बन्ध राखेको थियो । यसमा भएका कुरालाई कसरी कार्यान्वयनमा लान सकिन्छ भन्ने उद्देश्यका साथ मार्किङ गरेका थियौं । विषयवस्तुलाई ५० र कला कम्पोजिसन, प्रिजेन्टेसन, हार्माेनी लगायतका विषयलाई ५० अंक गरेर पहिलो, दोस्रो, तेस्रो र सान्त्वना छुट्याएका थियौं ।’ उहाँले संविधान र लोकतन्त्रको सन्दर्भ बुझ्ने कुरा, अध्ययन गर्ने कुरा गाह्रो भएको भएकाले विद्यार्थीका लागि यो कार्य निकै चुनौतीपूर्ण पनि भएको धारणा राख्नुभयो ।
यसैगरी प्राध्यापक राधेश्याम मुल्मीले यसमा कार्यक्रममा सहभागी हुनु नै ठूलो कुरा भएको बताउँदै सहभागी कलाकार र प्रतिष्ठानप्रति आभार प्रकट गर्नुभयो ।
प्रतियोगितामा ललितकला क्याम्पसकी अञ्जली घिमिरे प्रथम, सिर्जना कलेज अफ फाइन आर्ट्सका होमराज कुलुङ द्वितीय, काठमाडौं विश्वविद्यालयका रुजनकुमार मर्हजन तृतीय र सिर्जना कलेज अफ फाइन आर्ट्सका लिस्मा ताम्राकार तथा ललितकला क्याम्पसकी प्रतिभा खड्काले सान्त्वना पुरस्कार पाउनुभयो । पुरस्कारको राशी क्रमशः १५,०००, १२,०००, १०,०००, ८०००÷८००० र प्रमाणपत्र रहेको थियो । उक्त प्रदर्शनीमा अनिल मर्हजन, धावा दोर्जे गुरुङ, रिया योञ्जन, सुमित्रा तामाङ, मुक्ति चालिसे, रञ्जित कुँवर, सन्ध्या मगर, प्रकृति राजवंशी, विशाल थामी, प्रतिक्षा तिवारी, विदूर पौडेल, चेतन गौतम, सुनिल हरिजन लगायतका डेढ दर्जन विद्यार्थीले सहभागिता जनाउनुभएको थियो । समारोहमा प्राज्ञपरिषद सदस्यहरु पाल्साङमो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय राई वान्तवा, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य झिग्मे लामा, वासु क्षितिज श्रेष्ठ, कलाकार दामोदर बराल लगायतको उपस्थिति रहेको थियो ।