नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लुम्बिनी प्रदेश समन्वय समितिको अग्रसरतामा लुम्बिनी प्रदेशबाट काठमाडौं उपत्यकामा बसेर कलाकर्म गर्ने कलाकारसँग शुक्रबार (भदौ १५ गते) छलफल भएको छ । मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक प्राज्ञ दिनेश्वर महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रादेशिक प्रदर्शनीलाई कसरी लान सकिन्छ र प्रदेशमा ललितकलाको के–कस्ता सम्भावना छन् ? लगायतका विविध विषयमा चर्चा गर्नुभयो । उहाँले प्रतिष्ठानले कलाकारको सूची संकलन गरी आगामी दिनमा खोज अनुसन्धानका कामलाई अगाडि बढाउने तथा स्थानीय कलाकारको पहलमा ग्यालरी, संग्रहालय बनाउने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रशिक्षण, कार्यशाला, प्रदर्शनी गर्दै यस क्षेत्रलाई पर्यटनको विकासको लागि पनि जोड्नुपर्दछ । हामीले परिणाम खोजेका छांै ।’ कलाकार कमलराज श्रेष्ठले नेपालगञ्जलगायत स्थानमा कला गतिविधिको अवस्थाका बारेमा जानकारी गराउँदै एवं प्रशिक्षणको आवश्यकता रहेको बताउनुभयो । कलाकार केशवराज खनालले कला र पर्यटनको विकास काठमाडौं र पोखरामा भएजस्तै लुम्बिनीमा पनि बढाउन कलाका गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कला प्रदर्शनी र ग्यालरी निर्माणमा समेत काम गर्नुपर्नेमा विचार व्यक्त गर्नुभयो । कलाकार नरबहादुर विकले माटोका काम गर्ने स्थानीय कुमालहरुसँग हामीले पनि सीप सिक्न जरुरी रहेको बताउनुभयो । यसैगरी मूर्तिकार एवं प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारीले प्रदेशमा सबै विधालाई कसरी समेट्न सकिन्छ ? साथै सबैको अध्ययन र पहुँचबाट टाढा भएकालाई समेट्नुपर्नेमा जोड दिनुभयो । प्राज्ञ दिनेश्वर महतोले यो छलफल गर्नुको उद्देश्य लुम्बिनी प्रदेशमा रहेका कला र कलाकारलाई समेटेर अघि बढ्नु रहेको बताउनुभयो ।