नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा लुम्बिनी प्रदेशबाट काठमाडौंँ उपत्यकामा बसेर कलाकर्म गर्ने कलाकारसँग छलफल कार्यक्रम बुधबार (भदौ २७ गते) सम्पन्न भएको छ । लुम्बिनी प्रदेश समन्वय समितिका संयोजक प्राज्ञ दिनेश्वर महतोको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी, नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालसँगै कलाकारहरु रामबहादुर ठाडा, राजेन्द्र कँुवर, रसिक राज, लिलाधर के.सी, नरबहादुर वि.के., कमलराज श्रेष्ठ, भिक्षु अनन्तो, सुस्मिता शाही, दिपक शाही, हरिराम अधिकारी, कमल अधिकारी, सिकेन्दर चौधरी, प्रितम थापा, जीवन चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कुलपति हार्तम्छालीले सर्जकहरु भावनाले बोल्ने भए पनि सिर्जनात्मक हिसाबले कलाकार पद कहिले नजाने बताउनुभयो । गाउँपालिका, नगरपालिका र अन्तर्राष्ट्रियस्तरमा समेत कार्यक्रम गर्न सकिने कुरा राख्दै उहाँले प्रदेश स्तरमा गर्न सकिने कलाको गतिविधिबारे पनि विस्तृत जानकारी गराउनुभयो ।
प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारीले देशको कला संस्कृतिको जगेर्ना गर्न एकेडेमी गठन भएको र यसले मोफसलमा रहेका लोपोन्मुख कलाको खोज तथा अनुसन्धान गर्नुपर्ने धारणा राख्नुभयो । यसैगरी, नेपाल ललितकला पत्रकार समाज (सोफाज) अध्यक्ष केशव राज खनालले कलाको प्रवद्र्धनका लागि स्थानीय पालिकामा पुगेर कलाको गतिविधि गर्न जरुरी रहेको जिकिर गर्नुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, प्रदेश समन्वय समितिका संयोजक प्राज्ञ दिनेश्वर महतोले समन्वय समितिले यसवर्ष स्थानीय सीप र कलाको प्रवद्र्धन गर्ने, प्रदेशस्तरीय कला, गोष्ठी तथा भेलाको आयोजना गर्ने र प्रदेशस्तरीय कला प्रदर्शनीमा कलाकारको सहभागिता गराउने लगायतका विविध विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।