काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङको आयोजना र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सोमवार (२०८२ मङ्सिर २२ गते)बाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा कला तथा डिजाइन विभागअन्तर्गत शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीहरूद्वारा कार्यशालाामा सिर्जित कलाकृति ‘रिइम्याजिन ट्रेडिसन–२’ प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति हार्तम्छालीले आजको विद्यार्थी पुस्ता नै भोलिको देशको हरेक क्षेत्रमा नेतृत्व गर्ने पुस्ता भएको बताउँदै सिर्जनशीलतामा लाग्न आह्वान गर्नुभयो । विषयवस्तु, शिल्पअवधारणा र सिर्जनाको बौद्धिक अभ्यास साधनाका अर्थले महत्त्वपूर्ण रहेको बताउँदै उहाँले भावुकता, बौद्धिकता, प्राज्ञिकताको सामञ्जस्यबाट ज्ञानको निर्माण हुने बताउनुभयो । यस्ता प्रदर्शनीबाट विद्यार्थीहरूको कला कर्मको समीक्षा, मूल्याङ्कन तथा सिर्जनात्मक वातावरण तयार हुने बताउँदै उहाँले शिल्प–हस्तकला, वास्तुकला जीवनसँग जोडिएको र यसले सर्जकलाई आत्मनिर्भर बनाउनुका साथै समाजको अर्थतन्त्रमा समेत योगदान दिने बताउनुभयो ।
औद्योगिक डिजाइनर Mike Krajhiak ले यो प्रदर्शनी नितान्त विद्यार्थीहरूको स्वसिर्जना भएकाले विशेष रहेको बताउनुभयो । साथै उहाँले प्रदर्शनीमा भौतिक र अभौतिक सम्पदा, संस्कृति झल्किने हस्तकलाका कलाकृति रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिपार्टमेन्ट अफ आर्ट एन्ड डिजाइनका प्रमुख सागर मानन्धरले रैथाने शिल्प–हस्तकलाको ज्ञानलाई समाजमा विस्तार गर्न पाठ्यक्रम नै लागु गरेर जानुपर्ने बताउँदै यो प्रदर्शनी प्रयोगात्मक रहेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा प्रतिष्ठानसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्य एवं काठमाडौँ काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङका अध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।