नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत तथा शिल्पकला विभागद्वारा आयोजित राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा पुरस्कार अर्पण समारोहको उद्घाटन २०७४ जेठ ६ गते शनिबार प्रमुख अतिथि माननीय खानेपानी तथा सरसफाई मन्त्री एवं पूर्व संस्कृतिमन्त्री जीवनबहादुर शाहीले गर्नुभयो । उपत्यका तथा मोफसलमा रही परम्परागत कलामा अनवरत रुपमा साधनारत कलाकारहरुको योगदानको कदर गर्दै ४ जना वरिष्ठ कलाकारहरु लाई जनही रु. अठार हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । नगद तथा प्रमाणपत्र पाउने कलाकारहरुमा भक्तपुरकी नारायण लक्ष्मी कारञ्जित, काभ्रेपलाञ्चोकका कुन्साङ दोर्जे लामा, हुम्लाका देववहादुर शाही तथा तनहुँका मुक्ति सिंह थापा हुनुहुन्थ्यो । 
कार्यक्रमको सभापतित्व नेपाल ललितकला प्रज्ञा–प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवं परम्परागत कला तथा शिल्पकला विभाग प्रमुख निमा घ्याम्छो लामाले गर्नुभएको थियो भने विशेष अतिथिको आतिथ्यता नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, उपकुलपति शारदा चित्रकार, सदस्य–सचिव, नवराज भट्ट तथा वरिष्ठ कलाकार उत्तम नेपालीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै माननीय मन्त्री जीवनबहादुर शाहीले देशको कला र संस्कृतिको जर्गेना गर्ने कलाकारहरुको जिविकोपार्जनको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । कला संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन भइरहेको समेत उहाँले चर्चा गर्नुभयो । प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले अरनिकोको योगदानको प्रशंसा गर्दै यस्तो कार्यक्रमको माध्यमबाट अरनिकोको सम्मान भएको वताउनुभयो । प्रतिष्ठानका उपकुलपति शारदा चित्रकारले १३ औं शताब्दिमा ८० जना कलाकारहरुको नेतृत्व गर्दै चीनमा गई अरनिकोले नेपाली मौलिक कलाको श्रीवृद्धिमा योगदान पु¥याएको बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव श्री नवराज भट्टले अरनिकोले कलाकारिताको माध्यमबाट नेपाल र नेपालीको शिर उच्च राख्न मद्दत गरेको बताउनुभयो । प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवं सो कार्यक्रमका सभापति निमा घ्याम्छो लामाले यस्तो कार्यक्रमले थोरै भएपनि कलाकारहरुलाई राहत दिने भएकोले कार्यक्रम यस्तो कार्यक्रमको आयोजना निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो । कलाकार दीपक जोशीले प्रज्ञा–प्रतिष्ठानमा परम्परागत कलाको प्रतिनिधित्व कम भएकोे बताउनुभयो । कलाकार मुक्तिसिंह थापाले पुरस्कार वितरण सधैँ विवादमा रहिरहने परम्परा रहेको तथा यस्तो परम्परा अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा करिब १५० जना सहभागीहरुको उपस्थिति थियो । 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कलाकार अरनिकोको स्मृतिमा वर्षेनी कार्यक्रम आयोजना गरी वरिष्ठ कलाकारहरुलाई सम्मान गर्ने गरेको छ । यस्तो कार्यक्रमले अरनिकोको सम्मान हुने तथा कलाकारहरुलाई केही राहत मिल्ने विश्वास गरिएको छ ।