‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ सोमबारबाट सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय सुदन किरातीले उद्घाटन गर्नुभएको यस प्रदर्शनीमा विभिन्न उच्च पदस्त व्यक्तित्व सँगै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का सद्भावनादूत अनिल चित्रकार, परम्परागत चित्रकला विभाग प्रमुख तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का प्रचार प्रसार उपसमिति संयोजक पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ तथा चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्यहरु लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगि श्रेष्ठ, बासुदेव श्रेष्ठ, प्रदिप शाक्य, सुन्दर सिंख्वाल, निरीमाया लामा, चन्द्रकुमार राई, महेन्द्र सुनार, अजमत अलि, कृष्ण प्रकाश शाहको लगायतको उपस्थिति रहेको थियो ।
समारोहमा बोल्दै प्रतिष्ठानका उपकुलपति लामाले गणतन्त्र दिवसको दिन उत्सवको रुपमा छानेर प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रदर्शनीमा सहभागी सबै कलाकार नै पुरस्कृत भएसरह रहेको धारणा राख्नुभयो । त्यस्तै, मन्त्री किरातीले भन्नुभयो ‘कला मनोरञ्जनका लागि मात्र नभएर कला जीवनका लागि हो । कलाको विकास भएमा मात्र हामीले सोचेको समृद्ध नेपालको विकास सम्भव हुन्छ । देशको कुना–कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु तपाई हाम्रो कर्तव्य हो ।’ कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीसकेसँगै प्रतिष्ठानले असारको दोस्रो साता भित्रमा ललितकला सम्मेलन गर्न लागेको बताउँदै त्यसबाट आएका सल्लाह सुझावका आधारमा आगामी दिनका नीति तय गरिने धारणा राख्नुभयो । उहाँले नेपाललाई कस्तो बनाउने भन्ने कुरा कला, भाषा, साहित्य, संगीतले तय गर्ने बताउनुभयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रदर्शनीको सफलताको शुभकामना दिनुभयो । उहाँहरुले यस कार्यलाई देशभर फैलाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
‘म, मेरो देश र मेरो सिर्जना’ थिम अनुसार गरिएको यस वर्षको प्रदर्शनीमा ‘म’ भन्नाले मेरो बोली, ज्ञान, आत्मासँग सम्बन्धित ललितकला हुन्छ भने ‘मेरो देश’ भन्नाले राष्ट्रलाई चिनाउने कला भन्ने बुझिन्छ । यसैगरी ‘मेरो सिर्जना’ भन्नाले मभित्र भएको सिर्जनसिलता प्रस्तुत गर्ने कला भन्ने बुझिन्छ ।’
यस प्रदर्शनीमा ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको हो । जसअन्तर्गत आधुनिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तु तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति,क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकारका ७ कलाकृति रहेका छन् । यी कलाकृतिहरुमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्,बबरमहल तथा आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृतिहरु नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा राखिएको छ । प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदिप शाक्यले गर्नुभएको हो ।
यसवर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमश: मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरियो । यसको राशी जनही १ लाख र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमश: नगेन्द्रप्रसाद पौड्याल र नारायण प्रसाद ढुंगानालाई प्रदान गरियो । यसको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरियो ।
सासामयिक चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा रमेश कुँवर, टिकाराम राई र संगीता घिमिरे रहनुभएको थियो भने मूल्यांकन समितिमा मदन चित्रकार, रतनकुमार राई र एरिना ताम्राकार हुनुहुन्थ्यो ।
परम्परागत चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा बुद्ध योञ्जन लामा, रामप्रकाश श्रेष्ठ र उजय बज्राचार्य रहनुभएको थियो भने मूल्यांकन समितिमा मानबहादुर दोङ, उदयचरण श्रेष्ठ र रत्नगोपाल सिंख्वाल हुनुहुन्थ्यो ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा अशोकमान सिं, सम्झना राजभण्डारी, सागर मानन्धर, विकास कार्की रहनुभएको थियो भने मूल्यांकन समितिमा हरिवंश किराँत, कुमार आले, मनिषलाल श्रेष्ठ र अविन श्रेष्ठ हुनुहुन्थ्यो ।
हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा उपेन्द्र बाराही, उसिना महर्जन र दिपेन्द्र शाक्य रहनुभएको थियो भने मूल्यांकन समितिमा रुद्रबहादुर बराइली, निलम ताम्राकार र धर्मराज शाक्य हुनुहुन्थ्यो ।
लोककला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योति कुमारी सापकोटा कर्णलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा सरितादेवी मण्डल, कृष्णराज सर्वहारी र सुष्मा शाक्य रहनुभएको थियो भने मूल्यांकन समितिमा डा. गोपाल ठाकुर, सुबोधचन्द्र दास र मेरिना चित्रकार हुनुहुन्थ्यो ।
परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा राकेश अवाले, उत्तम शाक्य र रामभक्त महर्जन रहनुभएको थियो भने मूल्यांकन समितिमा सिंहराज तुलाधार, चन्द्रश्याम डंगोल र सिद्धिरत्न शाक्य हुनुहुन्थ्यो ।
समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा भुवन थापा बहुवी, पूर्णकाजी शाक्य र सुनिता राणा रहनुभएको थियो भने मूल्यांकन समितिमा गोपाल कलाप्रेमी, पुष्पा शेरचन र राजु पिठाकोटे हुनुहुन्थ्यो । ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा हुने यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्नुहुने कलाकार प्रा. राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरियो । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वतवृत्ति प्रदान गरिएको छ ।
यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । त्यस्तै, कार्यक्रममा प्रतिष्ठानमा उत्कृष्ट कर्मचारीको सम्मान सविना पोखरेल र सुरेन्द्र गौतमलाई प्रदान गरियो ।
प्रदर्शनीको उद्घाटनका दिन नेपाल आर्ट काउन्सिलमा विशाल भट्टराईको धु्रपद गायन र निमेश कपालीको ताल सङ्गत प्रस्तुतिमा ‘धु्रवपद: रागालाप’ सांगीतिक कार्यक्रम समेत राखिएको थियो ।
समापनका दिन प्रदर्शनीको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने ५ जना पत्रकारलाई रु ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ । त्यस्तै, बिएफए, एमएफए, एमफिल, पिएचडीमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरुबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी ४ लाई समेत पुरस्कृत गरिनेछ ।