काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागद्वारा आयोजित आठ दिने ‘मुहार चित्रकला कार्यशाला–२०७७’ मङ्गलबारबाट सुरु भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले कार्यशालाको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा नायिका मनिषा कोइराला, अनुराधा कोइराला लगायतको उपस्थिति रहेको थियो । कार्यशालामा कुलपति केके कर्माचार्य, अभिनेत्री मनिषा कोइराला, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आनी छोइङ डोल्मा, सुरेन्द्र श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, प्रदिपकुमार श्रेष्ठ, भद्रकुमारी घले, अनुराधा कोइराला, अम्बिका श्रेष्ठ र पृथ्वीबहादुर पाण्डेको पोट्रेट बनाइने छ । आठ दिनसम्म सञ्चालन हुने कार्याशालामा कलाकारहरू प्राज्ञ गजेन्द्रमान श्रेष्ठ, आलोक गुरुङ, बाबुराजा देउला, सृजन राजभण्डारी, डि.राम पाल्पाली, कृष्ण प्रकाश शाह, किशोर नकर्मी, रोशन प्रधान, प्रदिप श्रेष्ठ, पूजा मर्हजन र कान्छा काजी भासिमाले लाइभ पोट्रेट बनाउनु हुने छ । प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीका अनुसार, कार्यशालामा तयार भएका मुहारचित्रको प्रदर्शनी एवं बिक्रीबाट प्राप्त रकम सिन्धुपाल्चोकको कालिकादेवी माध्यमिक विद्यालयका बालबालिकाको शिक्षामा सहयोग गरिने छ ।
्कार्यक्रममा सदस्य सचिव विपिन कुमार घिमिरेले स्वागत, ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।