भोटेकोशी नदी बाढीप्रभावितहरूको राहत तथा पुनःस्थापना सहयोगार्थ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सोमवार (२०८३ असोज १९ गते) बाट ‘मानवताका लागि कला’ (Art For Humanity) विशेष कला प्रदर्शनी सुरु भएको छ । २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायहरूलाई आवश्यक राहत, सहयोग र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग सङ्कलन गर्ने उद्देश्यले यस प्रदर्शनीको आयोजना गरिएको हो । मानवीय दायित्व र सामूहिक ऐक्यबद्धताको भावनाका साथ आयोजित प्रदर्शनीमा नेपालभरका कलाकार, कला दीर्घा, कलाकार समूह, कला तथा सांस्कृतिक संस्था, कला शिक्षण संस्था, विद्यार्थी, क्युरेटर, कला सङ्कलक तथा कलाप्रेमी नागरिकहरू तथा विदेशी कलाकारहरूको समेत सहभागिता रहेको छ ।
प्रदर्शनीमा राखिएका विविध विधाका कलाकृतिहरूको बिक्रीबाट उठेको रकममध्ये ७०% रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र १० % रकम कलाकार राहत कोषमा जम्मा गरिने छ भने कलाकृतिको २० प्रतिशत रकम कलाकारलाई प्रदान गरिने छ । प्रदर्शनीमा १६० भन्दा बढी कलाकारका परम्परागत कला, लोककला, चित्रकला, रेखाचित्र, मूर्तिकला, सेरामिक्स, फोटोग्राफी, प्रिन्टमेकिङ, इन्स्टलेसन, मिक्स मिडिया, डिजिटल कला, अन्य दृश्य कलालगायतका विविध विधाका २०० भन्दा बढी कलाकृतिहरू प्रदर्शित छन् । प्रदर्शनी २०८३ असोज २८ गतेसम्म चल्ने छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान प्राकृतिक विपद्को यस कठिन घडीमा कला र कलाकारको सिर्जनशीलता, संवेदना र सामाजिक उत्तरदायित्वलाई मानवीय सेवासँग जोड्ने अभियानमा सबैको सहभागिता र सहयोगको अपेक्षा गर्दछ ।