मधेस ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सोमबार (२०८० चैत ५ गते) सम्पन्न भएको छ । जनकपुर उप–महानगरपालिाकाका प्रमुख मनोजकुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, मधेस प्रज्ञा–प्रतिष्ठानका सदस्य देवनारायण यादव दिनेशकुमार यादव, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, कलाकार निर्मला झा, सोनाम लामा, मैथिली साहित्यकार परमेश्वर कापडिलगायतले प्रदेशमा पहिलो पटक भएको ललितकला प्रदशनीका बारेमा धारणा राख्नुभएको थियो । मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदर्शनीमा सहभागी कलाकारलाई प्रशंसा–पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले चैत २ गतेदेखि सुरु भएको यस प्रदर्शनीमार्फत प्रदेशका विविध कलाको मौलिकता जोगाउने, कलाकारलाई रोजगारी दिने र देशको अर्थतन्त्रमा समेत योगदान दिने उद्देश्य राखिएको बताउनुभयो । प्रतिष्ठानका हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङले प्रदेशका कलालाई थप प्रवद्र्धन गर्नका लागि यस प्रदर्शनीले थप सहयोग गरेको बताउनुभयो । उहाँले यस प्रदर्शनीलाई सफल बनाउन सहयोग गर्नुहुने मधेस प्रज्ञा–प्रतिष्ठान, पालिका सरकार, सङ्घसंस्था, प्रदेशका कलाकार तथा प्रतिष्ठानका मधेस प्रदेश समन्वय समितिका सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो ।