नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मधेस प्रदेश समन्वय समितिको अग्रसरतामा मधेस प्रदेशका कलाकारसँग छलफल भएको छ । शुक्रबार (भदौ १५ गते) भएको सो कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ ले संस्कृति नीति, प्रादेशिक प्रदर्शनी, कला, अर्थ र रोजगारी, ग्यालरी, संग्रहालय र आगामी दिनमा प्रतिष्ठानले गर्ने कार्ययोजनाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा कलाकार रामनारायण महतोले राष्ट्रिय ललितकला प्रदर्शनीमा मिथिला क्षेत्रका बौद्धिक कलाकारलाई विशेष रुपमा समेट्दै स्थानीय सरकार, एफएम, रेडियो, टेलिभिजनबाट ओझेलमा परेकालाई अघि ल्याउनका लागि ध्यान दिनुपर्ने र प्रशिक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
यसैगरी, कलाकार हरेराम यादवले नाम चलेका कलाकारलाई पनि समेटेर कलाको सैद्धान्तिक ज्ञान दिनुपर्ने कुरामा जोड दिनुभयो । कलाकार चन्दा कर्ण र रुवी कर्णले मिथिला कलालाई उजागर गर्न त्यहाँको स्थानीय सरकार र कलाकारको समन्वयमा कलाको प्रशिक्षण गर्नुपर्ने धारणा राख्नुभयो । हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय सतितिका संयोजक अरुणा हिङमाङले छलफलमा उपस्थित भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा प्राप्त सल्लाह र सुझावका आधारमा अघि बढ्ने जानकारी दिनुभयो ।