नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागको आयोजना र ग्यालरी एम क्युबको सहकार्यमा ‘प्र–कृति : प्रतिस्थापन कला प्रदर्शनी २०८०’ बिहीबारबाट सुरु भएको छ । प्रदर्शनीको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले गर्नुभयो । कार्यक्रममा कलाकारहरू सागर मानन्धर, सुशिला सिंह, मीना कायस्थ, विनय रिमाल, सुशान्त श्री राजभण्डारीका कला समावेश गरिएको छ भने अतिथि कलाकारहरूका रूपमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारी, ग्यालरी एम.क्यूबका संस्थापक मनिषलाल श्रेष्ठ रहनुभएको छ ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै प्रतिस्थापन कलाको महत्वमाथि प्रकाश पार्नुभएको थियो । विभागीय प्रमुख सौरगंगा दर्शनधारीले प्रकृतिलाई विशेष प्राथमिकतामा राखी प्रकृतिकै काखमा रमाएर २ साता अघिदेखि कला सिर्जनामा तल्लिन भई सिर्जित कलाको प्रदर्शनी फागुन ३ देखि चैत ३ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले प्रकृति र मानवबिचको अन्योन्याश्रित सम्बन्धलाई देखाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले आफू कलाको पारखी नै भएता पनि यस किसिमको कला अवलोकन गरेको पहिलो अनुभव भएको बताउनुभयो । उहाँले अहिले प्रकृति र मान्छेबिच द्वन्द्व चलिरहेको बताउँदै मानिसले प्रकृतिको विनाश गरिरहेको र त्यसैगरी प्रकृतिले पनि विभिन्न प्राकृतिक विपत्तिहरूको माध्यमबाट मानिसलाई सजाय दिइरहेको उदाहरण दिनुभयो । मन्त्री साउँदले सुदूरपश्चिम प्रदेश पनि कलामा धनी रहेको र कलाको गतिविधिहरू प्रदेशमा सञ्चालन गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै उहाँले प्रतिष्ठानको गतिविधिहरूमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त भयो ।
कुलपति नारदमणि हार्तम्छालीले प्रतिस्थापन कला भनेकै बहुमाध्यमहरूको प्रयोगबाट विभिन्न भावहरूलाई प्रस्तुत गर्ने कला भएको बताउनुभयो । उहाँले प्राकृतिक वस्तुहरूको प्रयोगबाट प्रकृतिसँगको सम्बन्धलाई अत्यन्त सुन्दर ढङ्गले कलाकारहरूले प्रस्तुत गर्नुभएको बताउनुभयो । हार्तम्छालीले कुनै पनि वस्तु स्वयम्ले बोकेको भावलाई कलाकारले फरक बनाउन सक्ने र फरक–फरक वस्तुलाई फरक फरक भावमा प्रस्तुत गर्न सक्ने खुबी कलाकारमा हुने बताउँदै सामाजिक उत्पीडनलाई कलामार्फत समसामयिक विषयवस्तुमा उठान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कुलपति नारदमणि हार्तम्छालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, जनसांस्कृतिक महासंघका कार्यवाहक अध्यक्ष भिम कुमाखी, कोषाध्यक्ष विमला केसी, गायक धनु ग्याङ्मी, प्राज्ञ तथा मूर्तिकार ओम खत्री लगायतको उपस्थिति रहेको थियो ।