नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागद्धारा आयोजित ‘प्रिन्टमा लोककला तीन दिने प्रशिक्षण, कार्यशाला तथा प्रदर्शनी–२०७४’ कार्यक्रम प्रतिष्ठानको परिसर नक्सालमा २०७४ जेष्ठ २९ गते सोमबारबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरु भएको छ । 
लोककलालाई प्रिन्टको माध्यममा विकास गरी यसको दायरालाई फराकिलो र समृद्ध बनाउने उद्देश्यका साथ यो कार्यशाला, प्रशिक्षण तथा प्रदर्शनीको आयोजना गरिएको हो । हुनत् लोककलालाई प्रिन्टको माध्यममा कमै मात्रामा बनाइएको छ । यसलाई प्रिन्टका माध्यमबाट नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लोककला प्रति रुचि जगाउनु पनि यसको अर्को मूल उद्देश्य रहेको छ । प्रतिष्ठानबाट दोस्रो पटक लोककलालाई प्रिन्ट माध्यममा कार्यशाला गर्न लागिएको हो । यसभन्दा अघि गरिएको कार्यशाला तथा प्रशिक्षणले प्रिन्टका माध्यममा लोककला विषय नयाँ र प्रभावकारी रहन गएकाले यसपटक यसलाई अझ फराकिलो ढंगले कार्यशाला गरिएको हो । 
कला कलेजमा अध्ययन गरिरहेका विद्यार्थीलाई समेत लोककला प्रति अभिरुचि जगाउनका लागि यस किसिमका कार्यक्रमको महत्व रहन्छ । यो कार्यक्रमले लोककलाका बिम्बलाई आधुनिक तथा समसामयिक कलामा समाहित गर्न उत्प्रेरित गर्ने विश्वास समेत लिन सकिन्छ । साथै नेपालमा प्रचलित लोककलाका बिम्बलाई कलाकाअन्य शैलीमा समेत प्रयोग गरी मौलिककला रचना गर्नका लागि समेत यस्ता कार्यक्रमको महत्व रहन्छ । 
३ दिनसम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले गर्नुभयो । कार्यशालामा संगीता घिमिरे, रन्जु यादव, बिपना मर्हजन, रुबी कर्ण, रिता मानन्धर, हरेराम यादव, विक्रम श्रेष्ठ, सरिता मण्डल, उमेश चौधरी र प्रधी राणा रहनुभएको छ । साथै सो कार्यशालाको व्यवस्थापन महिला कलाकार समूहका अध्यक्ष तथा कलाकार सुनिता राणाले गर्नुभयो । 
प्रमुख अतिथि कुलपति रागिनी उपाध्यायले यस्तो कार्यक्रम विगत वर्षको कार्यक्रमको निरन्तरता भएको बताउँदै यस्तो कार्यक्रमले कलाकारहरुमा उत्साह जगाउने बताउनुभयो । कार्यक्रमका सभापति एस.सी सुमनले आधुनिकता र परम्परागत विधा समावेश गरी कला र कलाकारबीच सेतु हुन सक्ने तथा आधुनिकतामा मौलिक नेपालीपनको सुवास भेटिने बताउनुभयो ।