नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार ‘प्राज्ञिक लेखन तथा कला’ विषयक गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि कुलपति नारदमणि हार्तम्छालीसँगै सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरु प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ तथा प्राज्ञसभा सदस्यहरु नरेन्द्र भण्डारी, लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगी श्रेष्ठ, प्रदिप शाक्य, निरीमाया लामा, चन्द्र कुमार राई, महिन्द्र सुनार, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल लगायतको सहभागिता रहको थियो ।

गोष्ठीमा उपप्राध्यापक विष्णु ज्ञवालीले पावरप्वाइन्टको माध्यमबाट बुँदागत रुपमा प्राज्ञिक लेखन, यसका विशेषता, प्राज्ञिक लेखनका लागि विश्लेष्य सामग्रीको निर्धारण, सङ्कलन, प्राज्ञिक लेखनमा सैद्धान्तिक पर्याधार, प्राज्ञिक लेखनको प्रक्रियासँगै प्राज्ञिक लेखनमा प्रयोग गर्नुपर्ने भाषा, सन्दर्भ सामग्री लगायतका ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षको बारेमा जानकारी गराउनुभयो । त्यस्तै, उहाँले प्रतिष्ठानका प्रकाशनहरुमा देखिएका त्रुटिहरु सुधार गर्न तथा अनुसन्धानात्मक लेखनको विकासका लागि तथा प्राज्ञिक लेखनसम्बन्धी ज्ञानका लागि यस कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
गोष्ठीमा आफ्नो धारणा राख्दै कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रम अत्यन्त उपयोगी भएको र विषयवस्तुको बुँदागत विश्लेषण गर्दा विभिन्न लेखहरुलाई उदाहरणको रुपमा प्रस्तुत गरी अझ बढी समय दिएर सञ्चालन गर्नसके कार्यक्रम अझ प्रभावकारी हुने बताउनुभयो । उहाँले कलाकारहरु भावनात्मक रुपमा प्रस्तुत हुने भएकाले प्राज्ञिक लेखनसम्बन्धी ज्ञानले लेखन सुधार गर्न मद्दत पुग्ने विश्वास जिकिर गर्नुभयो ।
उपकुलपति लालकाजी लामाले यस कार्यक्रम कलाकारलाई भाषिक लेखनको रुपमा पनि प्राज्ञ बनाउने अभियान भएको बताउनुभयो । उहाँले सिर्जनालाई हेरेर बुझ्न नसक्नेहरुलाई भाषाको माध्यमबाट कला बुझाउने अभियानको रुपमा यस कार्यक्रम गरिएको धारणा राख्नुभयो ।