नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मङ्गलबार(२०८० फागुन १५ गते) राष्ट्रिय सभा, नेपालअन्तर्गतको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ले निरीक्षण तथा अध्ययन भ्रमण गरेको छ। उक्त कार्यक्रममा समितिका सभापति मा.मायाप्रसाद शर्मा, मा.नरपति लुवार, मा.विना पोखरेल, मा.गोपाल भट्टराई, मा.तुलसाकुमारी दहाल, मा.गोमादेवी तिमल्सिना, मा.युवराज शर्मा, मा. मदनकुमारी शाह, मा.नरबहादुर विष्ट तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राई, समिति सचिव कमला शाक्य, प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेलगायतको उपस्थिति रहेको थियो ।
उहाँहरूसँगको छलफलका क्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपालका सांस्कृतिक, ऐतिहासिक सम्पदा मुख्यतः कलासँग जोडिएको बताउँदै त्यसबाट हुने आम्दानी कलाक्षेत्रलाई छुट्टयाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिष्ठानले प्रदेशसँगै पालिका सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू गरेको बताउनुभयो ।
सदस्य सचिव थुम्केलीले ललितकला क्षेत्रसँग सम्बन्धित ऐन, कानुन तथा कच्चापदार्थ, भंसारलगायतमा देखिएका कानुनी जटिलताका विषयलाई उठान गर्दै तिनको सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले ललितकलालाई शिक्षा र सीपसँग सम्बन्धित विषय, कार्यक्रमिक कार्ययोजना, राष्ट्रिय ललितकला संग्रहालय, प्रदेश प्रदर्शनी, कला हब, काठमाडौं ट्रिएनाले, कन्जर्भेसन/रेनोभेसन, गणतन्त्रको प्रतीक, अन्तर्राष्ट्रिय ललितकला मेला, सातै प्रदेशमा संग्रहालय, खुला मूर्तिकला बगैंचा/पार्क/स्मारक, अध्ययन अनुसन्धान, प्रकाशन लगायतका विषयमा काम गर्नुपर्ने गरी लाग्नुपर्नेमा जोड दिनुभयो ।
समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले ऐन, कानुन ललितकला मैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाँले ललितकलाकर्मीहरूलाई कच्चा पदार्थ तथा प्रदेश र पालिका सरकारले ललितकला क्षेत्रलाई उचित सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
छलफलमा समितिका सांसदहरूले ललितकला क्षेत्रसँग सम्बन्धित विभिन्न जिज्ञासाका साथै प्रतिष्ठानले आगामी दिनमा गर्ने कामहरूका बारेमा चासो राख्नुभएको थियो ।