आधुनिक अमूर्तकलाका अग्रज कलाकार स्व.पुरन खड्का (वि.सं.२०१२–२०७३) द्वारा सिर्जित कलाकृतिहरूलाई समेटेर एकल प्रदर्शनी मङ्गलबार (२०८० मङ्सिर १९ गते) बाट सुरु भएको छ । ‘सूत्रपातदेखि सम्पूर्णता’ शीर्षकको प्रदर्शनीको उद्घाटन गर्दै कुलपति नारदमणि हार्तम्छालीले कला सर्जक र सिर्जनाको सम्मान गर्ने आफ्नो ध्येय रहेको बताउनुभयो । उहाँले कलाक्षेत्रमा लाग्नेहरूले सांस्कृतिक रूपमा समाजलाई बुझ्नुपर्ने साथै विश्वव्यापी रूपमा कलाका बारेमा बहस गर्नुपर्ने जिकिर गर्नुभयो ।
यसै गरी प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले पुरन खड्काजस्ता अग्रज व्यक्तित्वहरूलाई समेटेर प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कला विश्लेषक मुकेश मल्लले कलाकारहरूको अभिलेख राख्न जरुरी भएको बताउनुभयो । प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीले कलाकार पुरन खड्का एक असल, सज्जन, इमान्दार कलाकार भएको बताउनुभयो । यसै गरी लोकसंस्कृति अन्वेषक ध्वजबहादुर कुँवरले ‘सूत्रपातदेखि सम्पूर्णता’ कार्यक्रम गरी प्रतिष्ठानले पुरन खड्कालाई सम्झेकोमा धन्यवाद दिनुभयो । कार्यक्रमको समापन गर्दै समसमायिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकार तथा कलाकार पुरन खड्काको परिवारप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद सदस्य पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य चन्द्रकुमार राई, जुपिटर प्रधान, कृष्णप्रकाश शाह, अग्रज कलाकार गेहेन्द्रमान अमात्य, विजय थापा, गोपाल चित्रकार, शङ्करनाथ रिमाल, राधेश्याम मुल्मी, नरेन्द्रबहादुर श्रेष्ठ, रतनकुमार राई, रमेश खनाल, निमाघ्याम्छो लामा, प्रा.डा. लय मैनाली, हरिवंश किरात, नरेन्द्र लिम्बू, प्रकाश खड्का, भक्तबहादुर खड्का, प्रा.डा.प्रेम कुँवर, सुदर्शन कार्कीलगायतको उपस्थिति रहेको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभागको आयोजना र एन्सेन्ट नेपालको सहकार्यमा गरिएको यस प्रदर्शनी २८ गतेसम्म चल्ने छ ।