नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको समन्वयमा बुधवार (२०८३ असोज ७ गते) पाठ्यक्रम विकास केन्द्रले ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६’ लाई समयानुकूल परिमार्जन गर्ने लक्ष्यका साथ सरोकारी निकायसँग छलफल तथा अन्तरक्रिया गरेको थियो। कार्यक्रममा पाठ्यक्रम र ललितकला, वाङ्मय, साहित्य, संस्कृति, सङ्गीतलगायतका विषयमा केन्द्रित रही सांस्कृतिक क्षेत्रबाट पाठ्यक्रममा समेटिनुपर्ने विषय र हाल लागु भएका पाठ्यक्रममा परिमार्जन गर्नुपर्ने विषयमा छलफल गरिएको थियो । छलफलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, ललितकला क्याम्पस, ललितकला केन्द्रीय विभाग, त्रि.वि., सांस्कृतिक संस्थान, अक्षेश्वर परम्परागत बौद्ध कला कलेजलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

