नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिका–६ स्थित टिस्टुङ सरस्वती बजारमा टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा स्थानीय पालुङ, चित्लाङ भेग तथा त्यस आसपास क्षेत्रका प्राचीन सम्पदा, पर्यटकीय गन्तव्य तथा स्थानीय बस्तीबारे चित्रकला सिर्जना यही मंसिर २३ गते सम्म गरिएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कार्यक्रमको शुभारम्भ गर्दै प्राकृतिक सौन्दर्य र विविधताले भरिएका यस क्षेत्रका विभिन्न संस्कृति तथा जात्रा पर्व लोपोन्मुख बन्दै गएकाले स्थलगत कला सिर्जनाले तीनका संरक्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले थाहा आदर्शका संस्थापक रुपचन्द विष्टको स्मरणमा उहाँको शालिक निर्माण भइरहेको जानकारी दिदै प्रतिष्ठानको नेतृत्वमा वरिष्ठ कलाकारले सिर्जना गर्ने स्थानीय विषय वस्तुले पूर्वाधार विकासका साथै पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीले कलाले सामाजिक तथा आर्थिक विकासमा योगदान गर्नेमा जोड दिनुभयो । बज्रबाराही बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, जनजाति अध्ययन समूहका अध्यक्ष मिना महर्जन लगायतले कृषि र पर्यटनको राम्रो संभावना रहेकाले त्यस क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा थाहा नगरपालिका, स्थानीय संस्था, इथ्नोलोजिकल स्टडिज ग्रुप र बज्रबाराही बजार व्यवस्थापन समितिले सहयोग गरेका छन् ।
यसैबीच नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागले आयोजना गरेको “पर्यटन र कला सृजना” गोष्ठिको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ तथा चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीको सभापतित्वमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यज्यूले गर्नु भयो । संस्कृतिविद एकराम सिंले प्रस्तुत गर्नु भएको पर्यटन र चित्र सिर्जना विषयक कार्यपत्रमा देशमा भएका भौगोलिक, सांस्कृतिक, पर्यावरण, धार्मिक क्षेत्र तथा सम्पदा लगायतको विशेष महत्व रहेकाले ती वस्तुलाई प्राथमिकतामा राखेर चित्र सिर्जना गर्नु पर्नेमा जोड दिइएको थियो । उक्त कार्यपत्रमा समीक्षा गर्दै अनुसन्धानकर्ता गणेश जिसीले देशको विकास र समृद्धिका लागि कला सिर्जनाले प्रभाव पार्ने र नेपाली मौलिक परम्परा, पूरातात्विक महत्वका सास्कृतिक विषयवस्तुमा सम्बन्धित समुदायका सभ्यता र भावनालाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो । गोष्ठीमा कलाकारहरु डी.राम पाल्पाली, नर बहादुर बि.के, कृष्ण गोपाल श्रेष्ठ, नेम बहादुर तामाङ्ग, महिमा सिं, टिका वीर राई, अनिल महर्जन, कला सुब्बा, जेनी नकर्मी, प्रमोद गोपाली तथा गन्यमान्य व्यक्तिहरुको समेत सभागिता रहेको थियो ।