नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबिच बिहीवार (असोज २५, २०८०) ललितकलाका विविध क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । यसै कार्यक्रममार्फत विश्वविद्यालयले स्नातक तहको ‘शिल्प तथा डिजाइन’ विषयको औपचारिक सुरुवात पनि गरेको छ । समझदारी पत्रमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा बोल्दै KU Schoool of Arts का कामु डिन सहप्राध्यापक इकुमाया पुनले शिल्प तथा डिजाइन शैक्षिक पाठ्यक्रम नेपालमै पहिलो पटक शुभारम्भ भएको र यसलाई प्राज्ञिक रुपमा अगाडि बढाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको यस सम्झौताले आउने दिनमा थप टेवा पु¥याउने बताउनुभयो ।
त्यसैगरी KU School of Engineering का प्रा.डा. मनिष पोखरेलले नेपालमै पहिलोपटक KU Schoool of Engineering र KU school of Arts मिलेर यस शिक्षाको आरम्भ गरेको यो एउटा ऐतिहासिक क्षण भएको जिकिर गर्नुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र काठमाडौ विश्वविद्यालयबीच भएको सम्झौता नेपालको शैक्षिक इतिहासमा एउटा माइलस्टोनको रुपमा चिनिने धारणा राख्नुभयो । KU Schoool of Education का डिन प्रा.डा. बालचन्द्र लुइँटेलले परम्परागत रैथाने शिल्पले हाम्रो समाजलाई अगाडि बढाउने भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका मन्त्री माननीय रामकृष्ण चित्रकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र काठमाडौ विश्वविद्यालयबीच सम्झौताले नयाँ जिम्मेवारी थप्नुका साथै मुलुकलाई पनि नयाँ पहिचान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्तै कार्यक्रमलाई प्रदेश सरकारले पनि प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसदमा टेबल गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस सम्झौताले नेपालको शिक्षामा नयाँ सोचको विकास गर्ने बताउनुभयो । उहाँले रैथाने ज्ञान र सिपको महत्वको उल्लेख गर्दै आगामी दिनमा एक्सन प्लान बनाएर उपलब्ध स्रोत र साधनको उपयोगबाट कार्यक्रमहरु गर्दै जाने र शिल्प तथा डिजाइनका सन्दर्भमा पनि विद्यार्थीलाई फिल्ड भिजिटसमेत गराउने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा विश्वविद्यालयका उपकुलपति भोला थापाले आफूहरुले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेका बताउनुभयो । उहाँले रैथाने कला, परम्परागत कला, ज्ञान र सिपलाई जोडेर आगामी दिनमा हामी अगाडि बढ्ने धारणा राख्नुभयो । समारोहमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद सदस्यहरु पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, सौरगंगा दर्शनधारी, संजय वान्तवा, अरुणा हिङमाङ प्राज्ञसभा सदस्यहरु झिग्मे लामा, चन्द्रकुमार राई,अग्रज कलाकार श्यामबदन श्रेष्ठ, अम्बिका श्रेष्ठ, केयु कला विभागका प्रमुख कौशल जोशी, निवर्तमान सहायक डिन सुजन चित्रकार, सागर मानन्धर, तेजेश शाक्य, कीर्ति शाक्य, अनिल शाही, प्रतिमा थकाली, श्याम प्रजापति तथा कला क्षेत्रसँग सरोकार राख्ने कलाकार,विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।