नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार(असोज २४, २०८०) काठमाडौं महानगरपालिका मातहतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा प्रधानाध्यापकहरुलाई प्राज्ञ सौरगंगा दर्शनधारीले कला शिक्षाको आवश्यकता, महत्व तथा पक्षका साथै प्रतिष्ठानका विविध गतिविधिहरुको चर्चा गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कला विषयले विधार्थीलाई कलाकार बन्न मात्र नभई एउटा सिर्जनशील व्यक्ति बन्नसमेत मद्दत गर्ने बताउनुभयो । उहाँले हाम्रा जीवनमा प्रयोग गरिने धेरै कुराहरु कलासँग जोडिने जिकिर गर्नुभयो । समारोहमा कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, प्राज्ञ पाल्साङ्मो लामा, प्रदिप अधिकारी, संजय वान्तवा, अरुणा हिङमाङ लगायतको उपस्थिति रहेको थियो ।