नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान र Institute of Engineering (IOE) को वास्तुकला विभागको संयुक्त आयोजनामा Design Studio V Exhibition बिहीबारबाट सुरु भएको छ । प्रदर्शनीको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरियो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा उपकुलपति लालकाजी लामा, सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरु पाल्साङ्मो लामा, प्रदिप अधिकारी, संजय वान्तवा, अरुणा हिङमाङ,Institute of Engineering (IOE) का वास्तुकला विभाग प्रमुख आर्किटेक्ट शोभा थापा, डिजाइन शिक्षकहरु आर्किटेक्ट प्रजल प्रधान र चन्द्र हाकुमिला प्रजापतिका साथै सो विभागमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । प्रदर्शनीमा विद्यार्थीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर एवम् सीता भवनलाई संग्रहालयमा कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने सन्दर्भका विभिन्न नमूना राखेका छन् ।
कार्यक्रममा बोल्दै कुलपति हार्तम्छालीले प्रतिष्ठानले वास्तुकलामा त्यसको व्यवहारिक र व्यवसायिक पक्षभन्दा पनि सौन्दर्य अर्थात आउटर अपेरियन्सकोे हिसाबमा धेरै हेर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्किटेक्चरलाई भावसँग जोड्नुपर्छ । आर्किटेक्चरको प्रक्रियामा सामुदायिक हिसाबले पनि हेर्नुपर्छ । यसलाई शास्त्र र कलासँग जोड्न सक्नुभयो भने अब्बल बन्न सक्नुहुन्छ ।’ त्यस्तै, प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आउने दिनमा विद्यार्थीबाट अझै परिस्कृत काम देख्न पाइने आशा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कलामा कलाको स्ट्रक्चर भित्रको सौन्दर्य झल्कनुपर्छ र आफ्नोपन पनि आउनुपर्छ ।’ Institute of Engineering (IOE) को वास्तुकला विभाग प्रमुख आर्किटेक्ट शोभा थापाले आगामी दिनमा प्रतिष्ठानसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।