नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिका, गोरखाको आयोजनामा आइतबार (२०८१ वैशाख २२ गते)बाट ‘धार्चे चित्रकला कार्यशाला’ सुरु भएको छ । कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले गर्नुभयो । ‘सुन्दर संरक्षित, समृद्ध धार्चे’ भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यशालामा २० भन्दा बढी कलाकारले सहभागिता जनाएका छन् । २०७२ सालको भूकम्पबाट मुख्य रूपमा प्रभावित यस क्षेत्रको समाज, जीवनशैली, कला, संस्कृति तथा भूगोललाई पर्या–पर्यटनसँग जोड्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको हो । यस सन्दर्भमा कलाकारले गाउँपालिकाको अवलोकन गरी आफ्ना दृष्टिकोण र भावनालाई कलाकृतिमा उतार्ने विश्वास गाउँपालिकाले लिएको छ ।
कलाकारलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष गुरुङले कलाकारहरूलाई पालिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कलाकारले पालिकाको अवलोकन गरी सिर्जना गरेका कलाकृतिले पालिकाको ऐतिहासिक, मौलिक, रैथाने संस्कृतिलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
नेपाल ललिकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागका प्रमुख प्रदीप अधिकारीले धार्चे गाउँपालिकाले संस्कृति र कलाको महत्त्व बुझेर चित्रकला कार्यशाला गर्न तदारुकता देखाएकोमा आभार व्यक्त गर्दै भौतिक विकास सँगसँगै मौलिक लोककला, संस्कृति, परम्पराको पनि संरक्षण गर्न उत्तिकै जरुरी रहेको बताउनुभयो ।
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष तथा सहभागी कलाकार केशव राज खनालले पालिकाको पर्यापर्यटन, मौलिक सम्पदा, जीवनशैलीलाई कलाकारले आफ्ना सिर्जनामा उतार्ने बताउनुभयो । उहाँले पालिकाअन्तर्गतका विद्यालयहरूमा समेत कलासम्बन्धी विशेष प्रशिक्षण गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले कलाकारले आफ्ना कलाकृतिमार्फत देशको मौलिकताको संरक्षण, प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
कार्यशालामा प्राज्ञ प्रदिप अधिकारी, मन गुरुङ, केशव राज खनाल, एनबी. गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजु, दिपेन्द्रमान बनेपाली, डिबी राई, लीलाधर केसी, बि.के. नरबहादुर, सुरेम देशार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रितम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ, सारा तुनिंचं् कोइंच्, (दुर्गा सुनुवार), कोपिला राई, विकास गुरुङलगायतका कलाकारहरुले सहभागिता जनाउनुभएको छ । कार्यशाला २६ गते सम्पन्न हुने छ ।