नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा ललितकलाको संरक्षण, प्रवद्र्घन तथा विकास गर्ने लक्ष्यका साथ सुरु भएको दुईदिने ‘कार्यशाला, गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा दुई दर्जन बढी कलाकार सहभागी भएका थिए । नेवा पुच नेवा समाज विकास परिषद् र नेपाल व्यावसायिक कलाकार संघको सहयोगमा भएको सो कार्यक्रमको कार्यशालाको मंगलबार समाजसेवी तथा जनप्रतिनिधि ज्ञानु लिगलले उद्घाटन गरेका थिए । उनले नेवारी कला र संस्कृतिलाई जगाएदै पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरिन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागका प्रमुख तथा प्राज्ञपरिषद् सदस्य सुषमा राजभण्डारीले ललितकलाको विकासमा प्रतिष्ठानले निरन्तर काम गर्दै आएको बताइन् । उनले केन्द्रिकृत रुपमा रहेको कला वातावरणलाई प्रतिष्ठानले विकेन्द्रित गर्दै आएको जिकिर गर्दै त्यसैको कडीका रुपमा रुपन्देहीमा कार्यशाला तथा गोष्ठीको आयोजना गरेको सुनाइन् ।