नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा बिहीबार (२०८२ श्रावण २९ गते ) बाट कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीमा थारू अस्टिम्की लोकचित्रकला कार्यशाला सुरु भएको छ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले अस्टिम्की मौलिक लोककलाको उच्चतम नमुना भएको र आफ्नो पहिचान स्थापित गर्न समुदाय अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश चौधरीले अस्टिम्की चित्र थारू पुर्खाहरूले बनाउँदै, सिकाउँदै आएकाले त्यस विरासतलाई अहिलेको पुस्ताले धान्नुपर्ने र यसलाई रोजगारीसँग पनि जोड्नुपर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष लालमती देवकी कठरियाले परम्पराअनुरूप घरका भित्तामा कला बनाउन अनुरोध गर्दै यसको पुस्तान्तरणमा जोड दिनुभयो । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पत्रकार, विद्यार्थीहरूलगायतको उपस्थिति रहेको थियो । मित्थु थारू प्रशिक्षक रहनुभएको कार्यशाला साउन ३० गते सम्पन्न हुने छ ।