नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र रामेछापको सुनापति गाउँपालिका बीच उक्त गाउँपालिकालाई ‘थाङ्का हब’ बनाउने विषयमा भएको सम्झौताअनुसार त्यसको सम्भावना अध्ययनका लागि प्रतिष्ठानका उपकुलपति लालकाली लामा, प्राज्ञपरिषद् सदस्यद्वय पाल्साङ्मो लामा र प्रदिप अधिकारी सहितको टोलीले गाउँपालिका भ्रमण गरी छलफल गरेको छ । सोमबार (भदौ २५गते) भएको छलफलमा प्रतिष्ठानको टोलीसँगै गाउँपालिका उपप्रमुख गीता विष्ट, सुनापति प्रज्ञा प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङ, गाउँपालिकाका शिक्षा शाखा अधिकृत कमल बम, स्थानीय गुम्बाका अध्यक्ष सूर्य दोङ, आर्किटेक्ट असीम लामा तथा अन्य स्थानीय सरोकारी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उक्त छलफलमा आफ्नो धारणा राख्दै उपकुलपति लालकाजी लामाले हबलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले जसका लागि सुनापति गाउँपालिकाले नेतृत्व लिनुपर्ने विचार व्यक्त गर्नुभयो । उपकुलपति लामाले यस कार्यका लागि थाङ्का व्यवसायीलाई जोड्न पनि जरुरी रहेको धारणा राख्नुभयो । प्राज्ञपरिषद् सदस्य तथा परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले सुनापति गाउँपालिका थाङ्का हब बन्नुमा गर्व गरिनुपर्ने बताउनुभयो । उहाँले हबलाई रोजगारी, उत्पादन, अर्थोपार्जन, पर्यटनसँग जोड्न सकिएमा अझ प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘सांस्कृतिक विषय संरक्षणमा मुख्य भूमिका स्थानीय नेतृत्वको हुन्छ । स्थानीय सरोकारी संघसंस्था, बुद्धिजीवी तथा जनप्रतिनिधिहरुको संयुक्त प्रयासले नै यस अवधारणालाई मूर्तरुप दिन सकिन्छ ।’ प्राज्ञपरिषद् सदस्य तथा लोककला विभाग प्रमुख प्रदिप अधिकारीले हबको वास्तविक अवधारणा स्थानीय सरोकारी निकायसहित आममानिसलाई बुझाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय पाठ्यक्रममा थाङ्का विषय पठनपाठन गराउन पनि पहल गरिनुपर्ने धारणा राख्नुभयो ।
गाउँपालिकाका शिक्षा शाखा अधिकृत कमल बमले हब सबैको चासोको विषय भएकोले यस अवधारणालाई कार्यान्वयन गर्न आवश्यक विषयहरुलाई अगाडि बढाउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
सुनापति प्रज्ञा प्रतिष्ठानका उपकुलपति मान ब. दोङले आफू थाङ्का कलाकार नै भएकाले पालिकाले उपकुलपति नियुक्त गरेको बताउँदै अब सबै सरोकारी पक्षलाई समेटेर यस क्षेत्रलाई होमस्टेसहितको थाङ्का कला हबको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । स्थानीय गुम्बाका अध्यक्ष सूर्य दोङले पलायन भएका स्थानीयलाई फिर्ता बोलाउने र यस क्षेत्रमा रहेका युवालाई रोक्न चुनौती रहेको बताउनुभयो । आर्किटेक्ट असीम लामाले स्थानीय वास्तुकलाको संरक्षणमा जोड दिएमा हबको अवधारणालाई सहयोग पुग्ने बताउनुभयो ।
गाउँपालिकाका उपप्रमुख उपप्रमुख गीता विष्टले कला, संस्कृतिको संरक्षणमा पालिकाले काम गरिरहेको र यो हबको अवधारणाले आफूलाई अझ उत्साही बनाएको बताउनुभयो । उहाँले यसलाई सफल बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।