नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सुनापति गाउँपालिका–४, रामेछापको आयोजना र ख्वप पौभा च्वमी पुचःको सहकार्यमा बुधवार (२०८१ चैत २७ गते)बाट ‘थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी’ सुरु भएको छ । प्रदर्शनीको माननीय ऊर्जा तथा जलस्रोत सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्घाटन गर्नुभयो । उहाँले यी कलाका उत्थानमा सक्दो सहयोग गर्ने बताउनुभयो । ‘सरकारले यस्तो कलालाई चिन्न सकेको छैन । चिनाउन सकेको छैन । यस्तो कलालाई बचाउन सकियो भने देश बन्छ । कलाकारलाई चिन्यो भने देश बन्छ ।’,तामाङले भन्नुभयो ।
बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईले कला क्षेत्रका प्रबुद्ध व्यक्तिहरूसँग साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताउँदै थाङ्का/पौभा कला क्षेत्रले देशको अर्थतन्त्रमा ठुलो योगदान पु¥याएको र यसको संरक्षण र प्रवर्धनमा सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाललाई विश्वमाझ चिनाउन परम्परागत र रैथाने कला विशेष रहेको बताउँदै प्रदर्शनीमा सहभागी कलाकारहरूलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले प्रतिष्ठानले २०८२ वैशाख २ गते देखि आयोजना गर्न लागेको ‘ललितकला मेला’मा अवलोकनका लागि सबैलाई आह्वान गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले थाङ्का/पौभा क्षेत्रले हजारौँ नेपालीलाई रोजगार दिएको र देशको अर्थतन्त्रमा अर्बौँको योगदान दिइरहेको परिप्रेक्ष्यमा यसलाई पर्यटन र अर्थतन्त्रसँग जोड्दै यस कलाको प्रवर्धनका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले आफू विगतमा थाङ्का व्यवसायी पनि रहेको प्रसङ्ग सुनाउँदै जनतालाई स्वरोजगार बनाउन पालिकाले काम गरिरहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले परम्परागत कला थाङ्का/पौभा नेपालको मौलिक, सांस्कृतिक कला भएको र यसलाई प्रवर्धन गर्न सुनापति गाउँपालिका र बागमती प्रदेश सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो । रामेछापको सुनापति गाउँपालिकालाई थाङ्का कला हब बनाउने योजनाअनुसार प्रतिष्ठान, गाउँपालिका र सुनापति प्रज्ञा–प्रतिष्ठानले सहकार्य गरी काम अघि बढाएको जानकारी दिनुहुँदै लामाले त्यसैको प्रारम्भिक रूप यस प्रदर्शनी भएको बताउनुभयो ।
ख्वपः पौभा च्वमी पुचः का उपाध्यक्ष पूर्णप्रसाद ह्योजुले थाङ्का/पौभालाई समग्रमा परम्परागत कलाका रूपमा हेर्दा सबैलाई समेट्न सकिने बताउनुभयो ।
प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल र मिना लामाले क्युरेटिङ गर्नुभएको प्रदर्शनीमा पूर्णप्रसाद ह्योजू, सुन्दर सिंख्वाल, शङ्करकुमार जोशी, समुन्द्रमान सिंह श्रेष्ठ, सोनाम सिंह भ्लोन, माइला दोङ, राम प्रकाश श्रेष्ठ, निरिमाया लामा,सुरेन्द्र शिल्पकार, धोर्चे गुरुङ लामा, अजय कर्माचार्य, रोजिना सिंख्वाल, रोशन ख्याजु, शिवप्रसाद किजु, कोमलनारायण श्रेष्ठ, रुसा महर्जन, रामसुन्दर ख्याजु, मृगेन्द्र कर्माचार्य, कृष्णराम धेमसु, बलराम न्हीसुतु, सुन्दर श्रेष्ठ, रविन्द्र मुनकर्मी, पुरण ह्योजू, रामहरि सिंख्वाल, हरिप्रसाद वैद्य, सुवेन्द्र लोहला, शशिधर सैँजु, चन्द्रकृष्ण किजु, श्यामसुन्दर ख्याजु, देवेन्द्र सिंख्वाल, नरेन्द्र मल्ल, राजकुमार रानामगर, रितेश बज्राचार्य, रजनी सिंख्वाल, महेश्वर डङ्गोल, मिङ्मा लामा, विनम्र डङ्गोल, अमृत डङ्गोल, भिग्मे लामा, श्रीजन बज्राचार्य, सुलभ शाक्य, सजित शाक्य, प्रकाश तामाङ, विकेश लामा, भिमबहादुर लामा, अनिता शिल्पकार, लगायतका कलाकृति रहेका छन् । प्रदर्शनी २०८२ वैशाख ६ गतेसम्म चल्ने छ ।
Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.