नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रदेश समन्वय समितिले गण्डकी प्रदेशका कलाकारसँग विविध विषयमा शुक्रबार (भदौ १५ गते) छलफल गरेको छ । उक्त कार्यक्रममा प्रतिष्ठान सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, पूर्वप्राज्ञपरिषद् सदस्य ओम खत्री, अग्रज कलाकार राधेश्याम मुल्मी, कलाकार छिरिङ फुन्सोक, इसान परियार, ओमप्रकाश गुरुङ, सुरक्षा वाग्ले लगायतको उपस्थिति रहेको थियो । ललितकलाको काम प्रदेश तथा स्थानीय तहमा कसरी गर्न सकिन्छ र यसको संरचनालाई कसरी अघि लान सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै सदस्य सचिव थुम्केलीले गण्डकी प्रदेश अन्तर्गतका कलेज तथा विश्वविद्यालयमा कला विभाग खोल्न पहल गर्ने, पाठ्यक्रम निर्माण, प्रदेश तथा पालिकासँगको समन्वय, प्रदेशका विविध कलाको संरक्षण, प्रवद्र्धन एवं विकास लगायतका विषयमाथि चर्चा गर्नुभयो । अग्रज कलाकार राधेश्याम मुल्मी तथा पूर्व प्राज्ञपरिषद् सदस्य ओम खत्रीले गण्डकी प्रदेशका सबै कलाकारलाई समेट्न सकिन्छ ? स्थानीय तवरमा कसरी सहकार्य गर्ने ? लगायतका विषयमा चर्चा गर्नुभएको थियो । कलाकार छिरिङ फुन्सोकले मुस्ताङ लगायतका अन्य जिल्लामा कसरी कलासम्बन्धी अध्ययन गर्न सकिन्छ र ग्यालरीको व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा जोड दिनुभयो । गण्डकी प्रदेश समन्वय समितिका संयोजक सौरगंगा दर्शनधारीले आगामी दिनमा गण्डकी प्रदेशमा अन्तर्गतका जिल्लामा रहेका कलाको विविध पक्षबारे अध्ययन गर्दै जाने, प्रादेशिक प्रदर्शनीका लागि आवश्यक ढाँचा तयार गर्ने र त्यहाँका कलासँग सम्बन्धित संघसंस्थालाई कलासँग जोडेर कार्यक्रमहरु गर्ने लगायतका बारेमा चर्चा गर्नुभएको थियो । कलाकार ओमप्रकाश गुरुङ, सुरक्षा वाग्ले, इन्द्र खत्री, महेश आचार्य लगायतका कलाकारले गण्डकी प्रदेशमा कलाको विकासका लागि गर्नुपर्ने कार्यका बारेमा चर्चा गर्नुभएको थियो ।