सामरी उत्थान सेवाको आयोजना र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभाग, समसामयिक चित्रकला विभागको सहकार्यमा शुक्रबार (असोज २६, २०८०)बाट ‘जातव्यवस्था र यौनिकताः कला प्रतिरोध’ शीर्षकमा दुई दिने चित्रकला कार्यशाला सुरु भएको छ । नेपालमा दलित समुदायभित्रका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारलाई मूलप्रवाहीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र पूर्वराजदुत तथा साहित्यकार पदम सुन्दासले संयुक्त रुपमा क्यानभासमा चित्र कोरेर गर्नुभयो ।
कार्यक्रममा हार्तम्छालीले भन्नुभयो, ‘दलित समुदायले विशेष रुपान्तरण खोजेका छन् । कार्यशालामा पक्कै पनि यस्ता प्रकारका बिम्वहरु आउने छन् । कार्यशालाले जनचेतना फैलाउने आशा राख्न सकिन्छ । उहाँले कलामार्फत समानता र सरलताको स्थान बनाउनुपर्ने र त्यसको सशक्त माध्यम कला भएको धारणा राख्नुभयो ।
पूर्वराजदूत पदम सुन्दासले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यस किसिमको कार्यक्रम गरेकोमा खुसी लागेको बताउँदै यस कार्यशालाले दलितको भावनालाई समेट्ने बताउनुभयो । उहाँले कलाकारले सोही अनुसार चित्रको निर्माण गर्नुहुनेछ भन्ने अपेक्षा आफूले राखेको विचार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सामाजिक विभेदको बारेमा कलाले बोल्नुपर्ने र चित्रमार्फत मानव प्रवृत्ति, जात व्यवस्था र यसले समाजमा पारेको प्रभावलाई सम्बोधन गर्ने बताउनुभयो । प्राज्ञपरिषद् सदस्य अरुणा हिङमाङले दलित र पारलैंगिक समुदाय पनि यो समाजको हिस्सा भएको र उहाँहरुलाई पनि पनि समान व्यवहार गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले उनीहरुका आवाजलाई स्थान दिन दुई दिने कार्यशाला प्रभावकारी हुने बताउनुभयो । प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवाले पानीभित्रका अनेकन बिम्व र त्यसले अवरोध सिर्जना गरेका सामाजिक कुरीति र कुसंस्कार धेरै भएको र कलामार्फत यस्ता खाले कुसंस्कार हटाउने अभियानमा अगाडि बढ्नुपर्ने कुरा राख्नुभयो ।
सामरी उत्थान सेवाका अध्यक्ष विमला गायकले आफुले विभिन्न संघ संस्थामा बसेर काम गर्दा भोगेको तितो यथार्थ बताउँदै प्रतिष्ठानसँग मिलेर महत्वपूर्ण काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । शनिबार समापन हुने कार्यशालामा २५ जना कलाकारले सहभागिता जनाएका छन् ।