नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा मङ्गलबार (२०८० पुस २४ गते) ‘ग्लोबलाइजेसन अफ कन्टेम्पोररी आर्ट्स’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वक्ताको रूपमा नेपालबाट कलाकार मनिषलाल श्रेष्ठ, अमेरिकाबाट मारी टेलर र जोन फुलर्टन, आयरल्याण्डबाट लोरा मर्फी तथा स्लोभाकियाबाट जुजाना हानाकोभा हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण प्राज्ञ प्रदीप शाक्यले गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्य, उपाध्यक्ष डिल्लीरत्न तुलाधरलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको बोल्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाली कलाको विविध आयामको चर्चा गर्दै कुनै पनि कुराको सार भनेकै अमूर्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पश्चिमले हाम्रो धेरै कुरा लिएको छ । उनीहरूको पनि हामीले लिएका छौँ । पछिल्लो समय सूचना प्रविधिले गर्दा एकअर्काको कला बुझ्ने/बुझाउने, लिने/दिने कुरालाई अझ बढाएको छ ।’
कलाकार लोरा मर्फीले आफ्नो कलाको चर्चा गर्दै कार्यक्रममा सहभागी भएको क्षण अविस्मरणीय भएको बताउनुभयो । जोन फुलर्टनले प्रतिष्ठानमा यस किसिमको कार्यक्रममा उपस्थिति हुन पाउँदा आफू खुसी लागेको भन्दै आभार व्यक्त गर्नुभयो । जुजाना हानाकोभाले वाटर कलरमा रमाउँदै आफूले कला सिर्जना गर्दाको क्षणसँगै आफ्ना कलाकृतिको बारेमा चर्चा गर्नुभयो । मारी टेलरले आफूले आधुनिक कलालाई अघि बढाउँदै रमाइरहेको बताउनुभयो । मनिषलाल श्रेष्ठले २०५० सालपश्चात आफू नेपालमा कलाको संस्थागत् रुपले जोडिएको बताउँदै नेपाली कलाका बारेमा आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालका पस्मिना, पौभा, थाङ्कालगायतका रैथाने कलाले विश्वका ६५ बढी देशमा बजार पाएको चर्चा गर्नुभयो । महासङ्घका उपाध्यक्ष डिल्लीरत्न तुलाधारले नेपालको कला अन्तर्राष्ट्रियकरण भइसकेकोे बताउँदै यसमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।