नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गढवा गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार (भदौ ६ गते) पालिकालाई सेरामिक्स हब बनाउने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, पालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, अग्रज कलाकार तथा विज्ञ गोपाल कलाप्रेमी, वडा नं ६ का अध्यक्ष वीरबहादुर थापा, स्थानीय कलाकार देवीलाल थारु, कालुलाल थारु, चुन्नुराम कुमाल लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, सम्भाव्यता अध्ययन टोलीबाट गाउँपालिकाका वडा नं ३ को वडा सदस्य आसाराम चौधरी (संयोजक) सँगै गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल तथा वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पोखरेलले सेरामिक्स हबको अध्ययन, अनुसन्धानका लागि बजेट छुट्याएर आफूले प्रदेश सरकारलाई अनुरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानको टोलीसँगको भेटले हामीलाई उत्साहित बनाएको छ । भविष्यमा पर्यटनसँग जोड्दै सांस्कृतिक संग्रहालयको तयारी गरिने र नयाँ पुस्तामा यसको प्राविधिक र सैद्धान्तिक पक्षको अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्नेछौं ।’
पालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले परम्परागत शैलीबाट नयाँ शैलीका भाँडाकुँडा बनाउन सिक्दै हाम्रो आफ्नो संस्कृति, परम्परालाई बिर्सन नहुने धारणा राख्नुभयो । प्राज्ञ दिनेश्वर महतोले गढवामा सेरामिक्स कलाका समस्या, कामको प्रकृति, प्रविधि, सीप, शैली तथा थोरै स्रोत र साधनले सेरामिक्सलाई बहुमुल्य कसरी बनाउन सकिन्छ भनेर आफूहरुले अध्ययन गरेको जानकारी गराउनुभयो ।
अग्रज कलाकार तथा विज्ञ गोपाल कलाप्रेमीले कलाकारहरुलाई सेरामिक्सको विविध पक्षका साथै फाइरिङ सिस्टमका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा खैरा, गढवा, कुमाल, जेठान गाउँबाट सहभागिता रहेको थियो ।