नेपाल ललिकतला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा बुधबारबाट सुरु भएको ‘क्यालिग्राफी वर्कसप’ बिहीबार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख प्राज्ञ सौरगंगा दर्शनधारी, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, लोककला विभाग प्रमुख प्रदिप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, अग्रज कलाकार राधेश्याम मुल्मी अशोकमान सिं साथै कलाकार विजय महर्जनको लगायतको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा विषयविज्ञ एवम् अग्रज कलाकार तथा सहभागी २६ जना कलाकारलाई समेत प्रशंसा पत्र प्रदान गरियो ।
समापन समारोहमा बोल्दै प्रतिष्ठानका उपकुलपति एवम् कार्यक्रमको प्रमुख अतिथि लालकाजी लामाले क्यालिग्राफी कलालाई आउने दिनमा समृद्ध बनाउने अभियानम लाग्ने र यस कार्यशालालाई सफल बनाउन सबैको ठूलो भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘क्यालिग्राफी एक अक्षर कला हो जसलाई कला सिर्जनासँग जोड्न सकिन्छ । प्रतिष्ठानले यस कार्यशाला आयोजना गरेर नवोदित कलाकारलाई यससम्बन्धी जागरण गर्ने जमर्को गरेको छ ।’ उहाँले यस किसिमका अन्य कार्यक्रम पनि आगामी दिनमा प्रतिष्ठानले आयोजना गर्ने बताउनुभयो ।