नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा सोमबार (भदौ १८ गते) बाट दुर्गौली, कैलालीमा ‘थारु लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला सुरु भएको छ । कार्यक्रमको उद्घाटन गा.पा. अध्यक्ष गणेश चौधरीले गर्नुभयो । कार्यक्रममा अध्यक्ष चौधरीले पहिले थारुको घर चिन्ने मुख्य आधार थारु चित्रकला, मूर्तिकला भएको बताउँदै संस्कृति सकिँदा जीवनपद्धति नै नास हुने बताउनुभयो । उहाँले थारु संस्कृति संरक्षण पारम्परिक विधि अनुसार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सांस्कृतिक चित्र बनाउने विधि र परम्पराको ज्ञान स्पष्ट हुनु जरुरी छ ।’ चौधरीले कला र संस्कृतिलाई अर्थसँग जोड्ने हिसाबले सोच्नुपर्नेमा जोड दिनुुभयो ।
प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले लोककलाको महत्व र मासिँदै गएको लोकसंस्कृति र परम्पराको संरक्षणमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘लोककला र संस्कृति समुदायको आत्मा हो ।’ साथै उहाँले बढ्दो आधुनिकीकरण कर नयाँ प्रविधिले लोक संस्कृतिलाई पु¥याएको असरको बारेमा चर्चा गर्नुभयो ।
मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले स्थानीय सरकारले ललितकला र रैथाने कलाको विषयलाई शिक्षामा समावेश गर्न जरुरी भएको बताउनुभयो । उहाँले लोककलाको संरक्षणमा गाउँपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
पालिकाका वडा नं ७ अध्यक्ष कमल महतोले लोककलाको चित्रमा थुप्रै रहस्य लुकेको बताउनुभयो । उहाँले आउने पुस्ताले कला संस्कृति जोगाउन आवश्यक भएको बताउँदै अरुको लहैलहैमा लागेर आफ्नो संस्कृति बिर्सने बानीको अन्त्य हुनु जरुरी भएको जिकिर गर्नुभयो । सो प्रशिक्षण कार्यशालाको प्रशिक्षक प्राज्ञ दिनेश्वर महतो र मित्थु थारु रहनुभएको छ । कार्यक्रम २० गतेसम्म चल्नेछ ।