राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० अन्तर्गत, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘कलामा लैङ्गिक चुनौती’ विषयमा समूहगत छलफल सम्पन्न भएको छ । दिपमाला महर्जनले संयोजन गर्नुभएको उक्त कार्यक्रममा प्यानलिस्टको रुपमा सन्ध्या रेग्मी, सुनिता राणा, मेरिना चित्रकार र प्राज्ञसभा सदस्य संगी श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कलाकार मेरिना चित्रकारले कला क्षेत्रमा आफ्ना बाबुबाट प्रेरित भएर लागेको बताउँदै बीचमा परिवारिक जिम्मेवारीले गर्दा कला क्षेत्रबाट अलिक टाढा रहनुपरेको धारणा राख्नुभयो । उहाँले आगामी दिनमा आफूले कला क्षेत्रलाई निरन्तरता दिने बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कलाकार सन्ध्या रेग्मीले आफूले यस क्षेत्रमा लाग्दा प्रोफेसनल संघर्ष धेरै गर्नुपरेको बताउनुभयो । उहाँले चित्रकलामा बच्चादेखि नै लगाव भएको तर आर्थिक र पारिवारिक समस्याका कारण आफूजस्ता धेरै महिला कलाकारले आफ्नो करिअरबाट टाढा हुनुपरेको धारणा राख्नुभयो । आगामी दिनका योजना सुनाउँदै उहाँले भन्नुभयो, ‘मेरो बुद्धिज्म र इन्भाइरोमेन्टलाई लिएर १०औं प्रदर्शनी गर्ने उद्देश्य छ ।’
कलाकार सुनिता राणाले बाल्यकालदेखि नै कला क्षेत्रमा आफ्नो लगाव भएको र पारिवारिक माहोलका कारण पनि यस क्षेत्रमा लाग्न प्रेरित गरेको धारणा राख्नुभयो । उहाँले कलेजपछि कलामा आफ्नो करिअर बनाएर त्यसलाई निरन्तरता दिन चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कलाकारले आफ्नो मौलिकता सँगसँगै एक्सपेरिमेन्ट्सहरु गर्दै जानुपर्छ । कला भनेको क्यानभास र रङ मात्र होइन, नयाँ प्रविधि र समयसँगसँगै आफूलाई लैजान सक्नुपर्छ ।’
प्राज्ञसभा सदस्य संगी श्रेष्ठले सबैभन्दा पहिले कलाकारले आफूले आफूलाई चिन्न सक्नुपर्ने र दृढ अठोट राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘अरुले के गर्छ भन्नेभन्दा पनि आफूले के गर्न सकिन्छ भनेर पनि सोच्नुपर्छ ।’ प्रतिष्ठानले गरेको यस्ता कार्यक्रमबाट आगामी दिनका लागि नीति निर्माण तथा योजना बनाउन सजिलो हुने बताउनुभयो । कार्यक्रममा सरिता डंगोल, सरिता मण्डल, पुनम कुमारी दास, रुवि कर्ण, कमला खड्का, प्रतिमा थकाली, सुशिला सिंह, मिङमा डोमा लामा, दिप्ती शेरचन, रीता मानन्धर, सम्झना राजभण्डारी, चन्द्रा श्रेष्ठ, अनिता भटट्राई, सरुणा श्रेष्ठ, सुदर्शन विक्रम राणा, ओम खत्री, निलेश शाक्य, उद्धवराज रिमाल लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
यस्तै, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, चित्रकला विभाग प्रमुख संजय वान्तवा, प्राज्ञसभा सदस्य महेन्द्र सुनार लगायतको उपस्थिति रहेको थियो ।