नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल कमर्सियल सङ्घ, सुर्खेतको सहकार्यमा भएको कर्णाली ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८० सोमवार (२०८० फागुन २१ गते) सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलामार्फत सबैलाई जोडी राष्ट्र निर्माणमा कलाकारलाई पनि सहभागी गराउने उद्देश्य राखेर यस प्रदर्शनीको आयोजना गरिएको धारणा राख्नुभयो । प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाले देशको कला र संस्कृति ओझेलमा परेको अवस्थामा प्रदर्शनीमा विद्यार्थी तथा युवा पुस्ताको सहभागिताले आशाको सञ्चार गरेको बताउनुभयो ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका कार्यकारी निर्देशक गणेश कार्कीले प्रदर्शनीमा राखिएका कलाकृति हेर्दा आफ्नो बाल्यकालको सम्झना आएको बताउनुभयो । सुर्खेत उच्च अदालत बार एसोसियसनका अध्यक्ष दुर्गा सापकोटाले कर्णाली प्रदेश कला र संस्कृतिमा धनी भएको बताउँदै यसको संरक्षण, संवद्र्धन र जगेर्ना गर्ने माध्यममध्ये ललितकला प्रदर्शनी पनि एक भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । सुर्खेतको जन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले आफ्नो विद्यालयको परिसरमा ललितकला प्रदर्शनी भएकोमा आभार व्यक्त गर्नुभयो । प्रदर्शनीको फागुन १७ गते प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको थियो ।