नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,कर्णाली प्रदेश समन्वय समितिले कर्णाली प्रदेशबाट काठमाडौं उपत्यकामा रहेर कलाकर्म गरिरहनुभएका कलाकारसँग शुक्रबार (भदौ १५ गते) छलफल गरेको छ । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ ले कर्णाली प्रदेशको रैथाने कलामा अनुसन्धान गर्ने, पाठ्यक्रम तयार पार्ने, नेपाली कलालाई उठाउने, कर्णाली प्रदेशको कला क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा चर्चा गर्नुभयो । छलफलको क्रममा कलाकार जितेन्द्र नेपालीले कर्णालीमा लोककलासम्बन्धी खोज तथा अनुसन्धान गर्नुपर्ने बताउनुभयो । कलाकार दिपेश नेपालीले पुराना गीत, संगीत तथा कला संस्कृतिको संरक्षण गर्दै अनुसन्धान र दस्तावेज बनाउनुपर्नेमा जोड दिनुभयो । कलाकार कोशल हमालले स्थानीय बासिन्दालाई सम्मिलित गराएर प्रत्येक स्थान तथा जिल्लाको एक–एक जना प्रतिनिधि चुनेर अघि बढ्ने, नृत्य तथा संगीतलाई कलाकृतिमा उतार्ने, अनुसन्धानको लागि कलाकारलाई परियोजना कार्य दिनुपर्ने विचार व्यक्त गर्नुभयो । कलाकार सुवाससिंह ठकुरी, हिमाल गुरुङ, सङ्गे थिन्ले लामा, मिन थापा, पल्झाङ लामा तथा प्राज्ञसभा सदस्य झिग्मे लामाले आफ्नो मौलिक कला र संस्कृतिको विषयवस्तुमा आधारित कलाको सिर्जना गर्नुपर्ने, हाम्रा रीतिरिवाजलाई कलामा उर्तानुपर्ने, विद्यालयमा कलाका कक्षा सञ्चालन गर्नुपर्ने, कला र कलाकारको जीवनी प्रकाशन गर्नुपर्ने लगायतका विषयमा चर्चा गर्नुुभयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य बखत हमालले कला विषयको महत्वबारे सरकारलाई बुझाउनुपर्ने र स्थानीय तहमा कलालाई पु¥याउन प्रतिष्ठानले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, कर्णाली प्रदेश समन्वय समितिका संयोजक एवं प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामाले कर्णाली प्रदेशका रहेका कलाका विविध पक्ष र आयामलाई खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णालीको कला र संस्कृतिलाई समाविष्ट गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला महोत्सव तथा कार्यशालाको आयोजना गर्नुपर्ने लगायतका कुरामा जोड दिनुभयो ।