नेपाल र जर्मनीका कलाकारहरूको सहभागितामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा माघ २२ र २३ गते भएको ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’ बाट सिर्जित कलाकृतिको प्रदर्शनी मङ्गलबार(२०८० फागनु ८ गते)बाट सुरु भएको छ । ‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’ नामक प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले गर्नुभयो । कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत Hanan Godar र जर्मनीका राजदूत Dr Thomas Prinz को समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले यस्ता खालका कार्यक्रमले नेपाल जर्मनबीच मित्रता कायम राख्न ठूलो भूमिका खेल्ने धारणा राख्नुभयो । उहाँले कला र संस्कृतिले जनस्तरको सम्बन्धलाई मजबुत बनाउने भएकाले प्रदर्शनीको सफलता हुने बताउनुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ प्रगाढ बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी जर्मनी नपुगे पनि यस्ता कार्यक्रमको माध्यमबाट अर्को देशको कला र संस्कृतिलाई बुझ्ने मौका मिलेको छ ।’
कार्यक्रममा जर्मन कलाकार Alexander Eliezer, Dirk Nibergall तथा Alexandra B.C. Bottenbruch ले कार्यक्रमका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद दिँदै र आफूहरू यस कामबाट खुसी भएको बताउनुभयो । प्रतिष्ठानका परिषद् सदस्य संजय वान्तवा राईले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन यो प्रदर्शनी सफल हुने बताउनुभयो । प्रदर्शनीमा नेपालबाट नारदमणि हार्तम्छाली, लालकाजी लामा, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, संगी श्रेष्ठ, जुपिटर प्रधान, कृष्णप्रकाश शाह, मुकेश मल्ल, रमेशनाथ खनाल, रविनकुमार कोइराला, धनबहादुर याखा, जीवन राजोपाध्याय, नवीन्द्रमान राजभण्डारी, कीर्तिकौशल जोशी, केशव राज खनाल, मुकेश श्रेष्ठ, नारायणप्रसाद बोहजु, प्रमिला बज्राचार्य, सम्झना राजभण्डारी, किरण सिगु, जुजुकाजी श्रेष्ठ ‘प्रभात’, नेमबहादुर तामाङ, सफलराम श्रेष्ठ, सुयोग महर्जन, हरि बम्जन, कृति चन्द शाह, सुनैना ठाकुरसँगै जर्मनीका कलकारहरू Botti Hans-Hermann Bottenbruch, Helge Achenbach, Alexandra B.C. Bottenbruch, Alexander Eliezer, Elaus Fottinger, Bernd Zimmer, Daniel Zerbst, Carsten Fock, Armin Baumgarten, Susanne Kamps लगायतको सहभागिता थियो । जर्मनीका कलाकारहरू ‘नेपाल आर्ट एक्सचेञ्ज’ को सिलसिलामा नेपाल आउनुभएको हो । प्रदर्शनी फागुन १४ गतेसम्म चल्नेछ ।