नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार (भदौ ९ गते) एक दिवसीय प्राज्ञिक लेखन कार्यशाला सम्पन्न भएको छ । प्रा.डा. दयाराम श्रेष्ठ मुख्यस्रोत व्यक्तित्व रहनुभएको कार्यशालामा सहजकर्ताको रुपमा डा. यमप्रसाद शर्मा र विष्णु ज्ञवाली रहनुभएको थियो । कार्यशालाको पहिलो चरणमा प्रा.डा. दयाराम श्रेष्ठले शोध लेखनको ढाँचा विषयमा कार्यपत्र प्रस्तुत गर्नभएको थियो । यस कार्यक्रम विशेषतः प्रतिष्ठानबाट प्रकाशन गर्ने तयारीमा रहेको जर्नल ‘ललित प्रज्ञा’ मा समावेश गरिने लेख तथा अनुसन्धनात्मक शोधकृतिहरुको गुणस्तर र लेखकहरुमा प्राज्ञिक लेखनको ज्ञानको विकाससँगै लेखन शैलीमा सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रममा कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ सँगै प्राज्ञपरिषद् सदस्यहरु पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ तथा सभासदस्यहरु नरेन्द्र भण्डारी, अशोक लामा, झिग्मे लामा, कृष्ण प्रकाश शाहलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सहभागीलाई चार समूहमा विभाजन गरी नमुना शोध लेख लेखनको अभ्यास गरियो । जसमा सहभागीबाट चित्रकला, मूर्तिकला, लोककला, वास्तुकला गरी चार विधामा नमुना शोध लेखको खाका तयार गरी प्रस्तुत गरिएको थियो । प्रत्येक समूहको नेतृत्वकर्ताको समूहगत प्रस्तुतिसँगै प्रा.डा. दयाराम श्रेष्ठले नमुना लेखमाथि टिप्पणी तथा आवश्यक सुधारका लागि सुझावहरुसमेत दिनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रस्तोता, सहजकर्तालगायत कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यशाला अवधि छोटो भएको र आगामी दिनमा अझ निखारताका लागि विधागत रुपमा छुट्टाछुट्टै रुपमा यस किसिमका कार्यशाला आयोजना गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो ।