नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको संयुक्त आयोजनामा आइतबार(२०८२ माघ ४ गते)बाट ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली बङ्गलादेश आर्टिस्ट ग्रुपका प्रेसिडेन्ट साइफुल इस्लामले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अहिलेको परिस्थितिमा यस कला प्रदर्शनीले विशेष महत्त्व राख्ने बताउनुभयो । उहाँले यस प्रदर्शनीले नेपाल, भारत र बङ्गलादेशको कलालाई बुझ्न थप सहयोग गर्ने र आगामी दिनमा यस्ता कार्यक्रम गरिने बताउनुभयो । विशेष अतिथि पूर्व कुलपति किरण मानन्धरले अहिलेको वैश्विक परिस्थिति विचार गरी शान्तिको विषय उठान गरेको यस प्रदर्शनी महत्त्वपूर्ण रहेको बताउनुभयो । विशेष अतिथि प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले यो प्रदर्शनीको विषयवस्तु शान्तिका लागि कला मात्र नभई संसारका लागि सन्देशसमेत भएको बताउनुभयो । उहाँले प्रदर्शनीमा तीन देशका संस्कृति, समाज र अनुभवसँग जोडिएर कलाकारले सिर्जना गरेका कलाकृति समावेश भएको धारणा राख्नुभयो । बङ्गलादेश आर्टिस्ट ग्रुपका प्रेसिडेन्ट साइफुल इस्लामले नेपालमा आर्ट फर पिस विषयमा गरिएको प्रदर्शनी भविष्यमा अन्य देशमा पनि गर्न सकिने बताउँदै प्रदर्शनीमा सहभागी सम्पूर्ण कलाकारहरूप्रति आभार व्यक्त गर्नुभयो ।
कलामार्फत शान्ति, मानवता र वैश्विक मित्रताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका १०० युवा तथा अग्रज कलाकारका कलाकृति समावेश गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी माघ १० गतेसम्म चल्ने छ ।


