नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग तथा वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र आमाछोदिङ्मो गाउँपालिका, रसुवाको संयुक्त आयोजनामा शुक्रवार (२०८० चैत ९ गते ) बाट ‘आमाछोदिङ्मो आर्ट क्याम्प’  भएको छ । आर्ट क्याम्पको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र गाउँपालिका प्रमुख वुचुङ तामाङले कलाकारहरूलाई क्यानभास हस्तान्तरण गरेर संयुक्त रूपमा गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालाले गाउँपालिकाको कला, संस्कृति तथा त्यहाँ उपलब्ध पुरातात्त्विक महत्त्वका हजारौँ वर्षको इतिहास बोकेका विषयहरू मानवशास्त्र अध्ययन गर्न चाहनेहरूका लागि समेत ठुलो स्रोत हुन सक्ने बताउनुभयो । उहाँले पालिकाको कला, संस्कृति प्रवद्र्धनमा यस कार्यक्रमले विशेष महत्त्व राख्ने धारणा राख्नुभयो । गाउँपालिका अध्यक्ष वुचुङ तामाङले प्रतिष्ठानसँगको सहकार्यमा २५ जना कलाकारहरूका उपस्थितिमा आमाछोदिङ्मो गाउँपालिकालाई चित्रकलामार्फत चिनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई चित्रकलाले पर्यटन प्रर्वद्धनका निमित्त योगदान गर्न सक्ने धारणा राख्नुभयो । तामाङले भन्नुभयो, ‘हाम्रो पहिचान, संस्कृति र कुना–कन्दरामा रहेका कला, संस्कृतिलाई कसरी बाहिर लैजाने भनेर हामी चिन्तित थियौँ । अब हामीले बाटो भेटिसकेका छौँ । यसलाई कला पर्यटनका हिसाबले विश्वसामु चिनाउनु जरुरी छ र कलाकारहरूले हाम्रो विषयलाई सार्थक बनाउन पक्कै मद्दत गर्नुहुन्छ भन्ने विश्वास छ ।’
गाउँपालिका वडा नं. ३ का अध्यक्ष सुरेन्द्र तामाङले ‘प्रतिष्ठान र गाउँपालिकासँगको सहकार्यले पालिकाको सांस्कृतिक तथा कलाका विषयहरूलाई आमजनमानससम्म लैजानका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी यहाँको कला, संस्कृति र रहनसहनलाई जीवन्त राख्न सफल भएका छौँ ।’ गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्रप्रसाद आचार्यले ‘पर्यटन प्रवद्र्धनका निम्ति यस कार्य गरिरहेको बताउँदै पालिकाका बासिन्दाले त्यहाँका सम्पदाहरू जोगाएर राखेको बताउनुभयो ।
कार्यक्रममा आमाछोदिङ्मो गाउँपालिकाका उपाध्यक्ष चण्डिका तामाङसँगै स्थानीय पर्यटन व्यवसायी तथा पालिकाअन्तर्गतका विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
आर्ट क्याम्पमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यद्वय प्रदिप अधिकारी र दिनेश्वर महतो, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कलाकारहरू राजन काफ्ले, प्रदीप बज्राचार्य, प्रमिला बज्राचार्य, सुनिता राणा, अशुराम खाइजु, दिपेन्द्रमान बनेपाली, शंकरसन श्रेष्ठ, डिल्ली घिमिरे, भीम श्रेष्ठ, शशी डङ्गोल, नरबहादुर बिके, डिबी गुरुङ, झविन्द्र गुरुङ, मनरा प्रजापति, पुण्य मताङ, किशोर नकर्मी, सपना पौडेल महर्जन, निलम भुर्तेल, जुनुमाया तामाङ, सम्भव महर्जनलगायतका कलाकारको सहभागिता रहेको छ । आर्ट क्याम्प मङ्गलवार सम्पन्न हुने छ ।