नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र जिपी कोइराला फाउन्डेसन (कला र संस्कृति विभाग) को संयुक्त आयोजनामा सोमवार (२०८० मङ्सिर २५ गते) बाट अन्तर्राष्ट्रिय बालकला मेला सुरु भएको छ । प्रदर्शनीको कुलपति नारदमणि हार्तम्छाली र भारतीय कलाकार अजित राय चौधरीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै कुलपति हार्तम्छालीले कला राजनीति जस्तो नभई सुषुप्त रूपमा अघि बढेर जाने विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुन रूपमा कलाकृतिको प्रदर्शनी भएको छ, यो सजिलो तवरले भएको पक्कै होइन । यसमा ३ वटा देशका सिर्जनाहरू आएका छन् । यो कलाको एकताको सन्देश पनि हो ।’ उहाँले प्रदर्शित कला पुस्ता हस्तान्तरणको कामसमेत भएकाले यसको भविष्य पनि सुन्दर रहेको बताउनुभयो । अग्रज कलाकार राधेश्याम मुल्मीले कला संसारभरिको भाषा भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने कुरा बताउनुभयो । समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले चलेका कलाकारलाई मात्र प्रचारप्रसार नगरेर बालबालिकालाई पनि अघि बढाउने प्रयत्नस्वरूप यस कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रदर्शनी प्रदर्शनी मात्र नभएर भविष्यमा कसरी मनोज्ञवैज्ञानिक तवरले बालबालिकाको उन्नति गर्न सकिन्छ भन्ने कुराको दीर्घकालीन सोच पनि हो ।’
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, कलाकार प्राज्ञ मिथिलादेवी, रमेश खनाललगायतको उपस्थिति रहेको थियो । नेपाल, भारत र बङ्गलादेशका बालबालिकाका कलाकृति राखिएको प्रदर्शनी २८ गतेसम्म चल्ने छ ।