नेपाल र जर्मनीका कलाकारहरूको सहभागितामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा २ दिने ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’ सोमबार (२०८० माघ २२ गते)बाट सुरु भएको छ । कार्यशालाको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र जर्मन कलाकार Helge Achenbach ले संयुक्तरूपमा गर्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अहिलेको विश्व ग्लोबल भिलेजका रूपमा रहेको बताउँदै जर्मनीबाट नेपाल आएका कलाकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र जर्मनीको दृष्टिकोणबाट यस्ता गतिविधिमा संलग्न हुँदा त्यसले दुई देशबिचमा आत्मीयता बढाई सकारात्मक सन्देश दिन्छ । आगामी दिनमा यस्ता गतिविधिलाई निरन्तरता दिन आवश्यक छ ।’
जर्मन कलाकार Helge Achenbach ले नेपालमा पाहुना भएर आउन पाउँदा खुसी लागेको बताउँदै अरू जर्मन कलाकारलाई पनि नेपाल भ्रमण गर्न आग्रह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नेपालका कलाकारलाई पनि जर्मनीमा स्वागत गर्न चाहन्छौँ । यस्ता कार्यक्रमहरूमार्फत नेपाली कलाको प्रचार–प्रसार हुने विश्वास मैले लिएको छु । म दुईदिने कार्यशालाबाट तयार हुने कृति हेर्न निकै उत्सुक छु ।’
कार्यक्रममा बोल्दै प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले चित्रकला कार्यशालाले नेपाल र जर्मनीबिच कला, संस्कृति आदानप्रदान गर्न ठुलो योगदान पु¥याउने बताउनुभयो ।
कार्यशालामा नेपालबाट नारदमणि हार्तम्छाली, लालकाजी लामा, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, संगी श्रेष्ठ, जुपिटर प्रधान, कृष्णप्रकाश शाह, रमेशनाथ खनाल, रविनकुमार कोइराला, धनबहादुर याखा, मुकेश मल्ल, जीवन राजोपाध्याय, नवीन्द्रमान राजभण्डारी, कीर्तिकौशल जोशी, केशव राज खनाल, मुकेश श्रेष्ठ, नारायणप्रसाद बोहजु, प्रमिला बज्राचार्य, सम्झना राजभण्डारी, किरण सिगु, जुजुकाजी श्रेष्ठ ‘प्रभात’, नेमबहादुर तामाङ, सफलराम श्रेष्ठ, सुयोग महर्जन, हरि बम्जन, कृति चन्द शाह, सुनैना ठाकुरसँगै जर्मनीका कलकारहरू Botti Hans-Hermann Bottenbruch, Helge Achenbach, Alexandra B.C. Bottenbruch, Alexander Eliezer, Elaus Fottinger, Bernd Zimmer, Daniel Zerbst, Carsten Fock, Armin Baumgarten, Susanne Kamps लगायतको सहभागिता थियो । जर्मनीका कलाकारहरू ‘नेपाल आर्ट एक्सचेञ्ज’ को सिलसिलामा नेपाल आउनुभएको हो । कार्यशाला मङ्गलवार सम्पन्न हुने छ ।