नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १७ औँ प्राज्ञसभा शुक्रवार (२०८१ मङ्सिर २१ गते)सम्पन्न भएको छ । सभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । उहाँले प्रतिष्ठानको सक्रियता प्रशंसनीय भएको बताउँदै थप सक्रियताका लागि शुभकामना दिनुभयो । ‘वर्तमान अवस्थामा न्यूनतम स्रोत र साधनबिच पनि कसरी सिर्जनशील र धेरै परिणाम निकाल्ने काम गर्नुपर्छ भन्नेमा हामीले सोच्नुपर्छ’, पाण्डेले भन्नुभयो । ‘नेपाली कला, सिपलाई नवपुस्तामा हस्तान्तरण गर्दै समयानुरूप विश्वमञ्चमा अघि बढाउनुपर्छ । मन्त्रालयका तर्फबाट ललितकलाको विकासका लागि सक्दो सहयोग हुनेछ । यस सभाले प्रतिष्ठानको आगामी दिशाबोध राम्ररी गरोस्’, उहाँले भन्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभामार्फत विस्तृत रूपमा आन्तरिक तथा आगामी रणनीतिक विषयमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘युगको गतिशीलताअनुसार प्रतिष्ठानले काम गर्नुपर्ने छ । त्यसकारण हामी मनोगत र वस्तुगत तयारी गरी अघि बढ्ने छौँ । सांस्कृतिक क्षेत्रको पुनर्ताजगीका लागि प्राज्ञिक क्षेत्रले बोध गर्ने समय अहिले नै हो ।’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले ३ वटै केन्द्रीय प्रतिष्ठानमध्ये ललितकला प्रज्ञा–प्रतिष्ठानको कामअघि रहेको बताउनुभयो । उहाँले प्राज्ञसभाले आगामी दिनका लागि राम्रो निचोड निकाल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठान स्थापनाकालदेखि हालसम्मको अवस्थामा निरन्तर परिपक्व हुँदै गएको धारणा राख्नुभयो । उहाँले प्रतिष्ठानलाई ललितकलाका क्षेत्रमा थप अग्रसरता लिएर काम गर्न पर्याप्त बजेटको अभाव रहेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले ललितकला क्षेत्रको पुनर्जागरणका लागि ललितकलालाई स्थानीय तहदेखि नै सक्रिय पार्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले आ.व. २०८१/८२ को प्रथम त्रैमासिकमा गरेका कार्यहरूको चर्चा गर्दै विभिन्न पालिका, महानगर, सङ्घसंस्थालगायतसँगको सहकार्यमा गरेका कार्यहरूको समेत चर्चा गर्नुभयो । यस प्राज्ञसभाले ललितकला क्षेत्रको आगामी दिनको मार्ग तय गर्ने उहाँले बताउनुभयो । ‘अहिले नेपाली कलालाई मौलिकतासहित सैद्धान्तिकीरण गर्नुपर्ने र संस्कृति, प्रकृति र कलालाई विकासका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ ,’ थुम्केलीले भन्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपतिहरू केके कर्माचार्य, किरण मानन्धर, प्राज्ञपरिषद् सदस्यहरू क्रमशः पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्यहरू नरेन्द्र भण्डारी, लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगी श्रेष्ठ, वासुदेव श्रेष्ठ, प्रदीप शाक्य, सुन्दर सिंख्वाल, निरीमाया लामा, चन्द्रकुमार राई, राधिका कँडेल, जुपिटर प्रधान, सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङ, नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालसँगै विभिन्न कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
त्यसपश्चात्को बन्द सत्रमा सदस्य सचिवबाट सभामा प्रस्तुत गत आ.व. २०८०/८१ को वार्षिक तथा चालु आ.व. २०८१/८२ को प्रथम त्रैमासिक अवधिको प्रगति विवरण सहित चालु आ.व. २०८१/८२ का लागि प्रस्तावित बजेटको प्रतिवेदन, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नियमावली २०७६को संशोधन, कला विधाका परिभाषा र आगामी कार्यक्रमिक योजनालगायतका विषयमा छलफल तथा निर्णय गरिएको थियो ।