नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुनापति गाँउपालिका वडा नं. ४ को सहकार्यमा २०८१ माघ ७ गतेदेखि ९ गतेसम्म चित्रकला कार्यशाला, गोष्ठी तथा प्रदर्शनी सम्पन्न भएको छ । पालिकाको डहु माध्यामिक विद्यालयमा सम्पन्न कार्यक्रममा सुनापति गाँउपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले परम्परागत रैथाने कलाको जगेर्ना गर्दै त्यसको ज्ञान र सिपलाई प्रवर्धन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले बनाएको कलाले विश्वमा प्रतिस्पर्धा गर्न सक्छन् तर यसको प्रवर्धन गर्नु मुख्य चुनौती हो ।’ लामाले यस अभियानमा सबै कलाकार एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
सुनापति गाँउपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले सुनापति थाङ्का कलाका लागि महत्त्वपूर्ण स्थान रहेको बताउनुभयो । उहाँले मुख्यतः पालिकामा रहेका युवा कलाकारलाई जागरूक गर्न र सुनापतिको पहिचानलाई जोगाउन पालिका लागिरहेको जानकारी गराउनुभयो । ‘हाम्रो उद्देश्य थाङ्का हबलाई विस्तृत रूपमा अघि बढाई सुनापतिको दीर्घकालीन आर्थिक उत्थान गर्ने हो ।’, तामाङले भन्नुभयो । पालिकाका वडा नं.४ का अध्यक्ष डुण्डुप लामाले थाङ्का हबलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पर्याप्त बजेटको अभाव रहेको बताउँदै युवाको विदेश तथा सहर पलायनलगायतका समस्या रहेको बताउनुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने धारणा राख्नुभयो । कार्यक्रमका सभाध्यक्ष विकास तामाङले सुनापति गाँउपालिकामा थाङ्कु कला हबमार्फत नयाँ अध्याय सुरु भएको बताउँदै यसलाई सार्थकता दिन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङले थाङ्का कलाको प्रवर्धनमा पालिकाले गरिरहेको काम प्रशंसनीय रहेको बताउँदै त्यसका लागि आफूले समन्वय गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल, निरिमाया लामा, पौभा÷थाङ्का कलाकारहरू देवेन्द्र सिंख्वाल, हरिप्रसाद वैद्य, रामसुन्दर ख्याजु, बलराम न्हिसुतु, सुन्दर श्रेष्ठ, समुन्द्रमान सिं श्रेष्ठ, शङ्करकुमार जोशी, अमृत डङ्गोल, रामप्रकाश श्रेष्ठ, विनम्र डङ्गोल, राजकुमार रानामगर, महेश्वर डङ्गोल, सुरेन्द्र शिल्पकार, मुकेश श्रेष्ठसँगै डहु मा.वि.का प्रधानाध्यापक दलबहादुर बल र सहप्रधानाध्यापक हिरालाल मोक्तान, स्थानीय कलाकार, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा पालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीमा मिङ्मा लामाले ‘परम्परागत थाङ्का चित्रकला’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्राज्ञसभा सदस्य निरिमाया लामाले गर्नुभएको थियो ।

