नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवार(२०८१ पुस १५ गते )बाट ‘सिसी कला प्रदर्शनी’ सुरु भएको छ । कलाकार विभूषण ताम्रकारद्वारा सिर्जित कलाकृतिको प्रदर्शनीको प्रतिनिधिसभाका माननीय उपसभामुख इन्दिरा रानाले उद्घाटन गर्नुभयो । उहाँले सिसी कलाका क्षेत्रमा ताम्रकारले प्रयोग गरेको नवीन सोच तथा पुनः प्रयोगको सन्देशले सबैलाई प्रेरणा दिने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले समाजका सबै तह र तप्काका व्यक्तिहरूलाई समेट्दै कलाका विकासमा अघि बढ्ने अभियानको निरन्तरतास्वरूप यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्यले सिसीकलाका क्षेत्रमा विभूषणले सिर्जना गरेका कला पृथक् रहेको र यसले नेपालको संस्कृतिलाई समेटेको धारणा राख्नुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले फरक क्षेत्रको कलालाई प्रवर्धन गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले कला सिर्जनाको क्षेत्र सीमित नहुने बताउँदै खेर गएका वस्तुहरूलाई समेत सुन्दर रूप दिन सकिने उदाहरण प्रदर्शनीले दिएको धारणा राख्नुभयो । समारोहमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । ४७ कलाकृति राखिएको प्रदर्शनी शुक्रवारसम्म चल्ने छ ।