साङ्घाई इतिहास म्युजियमको आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास, चाइना कल्चर सेन्टर काठमाडौँ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा शुक्रवार (२०८१ माघ ११ गते)बाट ‘शुभमय जिन्दगी : नववर्षे चित्रकला’ प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ्सिन, साङ्गाईका सांस्कृतिक तथा पर्यटन ब्युरोका निर्देशक ओउसियाओ छुआन, साङ्घाइ क्रान्ति तथा इतिहास सङ्ग्रहालयका प्रमुख चेउ छुन हुवालगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
समारोहमा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै यस्ता कार्यक्रमले सांस्कृतिक कूटनीतिलाई थप बलियो बनाउने बताउनुभयो । उहाँले सन् १९५५ मा दुई देशबिच कूटनीतक सम्बन्ध स्थापना भएपश्चात् सम्बन्धले थप उचाइ लिएको बताउँदै पञ्चशीलको सिद्धान्तअनुसार नै नेपाल चीनबिच अघि बढिरहेको धारणा राख्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले साङ्गाई इतिहास म्युजियमको आयोजनामा भएको ‘शुभमय जिन्दगी : नववर्षे चित्रकला’ प्रदर्शनीकोे उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै साङ्घाईको सांस्कृतिक जनजीवनको बिम्बी–झलकहरू चित्रकलामार्फत नेपालमै ल्याएर देखाइदिनुभएकामा आयोजकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस प्रदर्शनीले आपसी अन्तर्राष्ट्रिय छिमेकी भाइचारा, एकआपसमा पर्यटन प्रवर्धन तथा सांस्कृतिक कलाको संवर्धनमा त्रिआयामिक सन्तुलन र समन्वयले पूर्वोत्तर एसियाको सांस्कृतिक सम्पदामा आपसी साझेदारी, जिम्मेवारी दुुई राष्ट्र ‘देशबिचको हितेरी–मितेरी’ अझ बढाउनका साथै विशेष संवेदनशील कलाकारी–कूटनीतिक सौहार्द र वैदेशिक सद्भाव कायम राख्न सकिने राम्रो सुअवसर पनि भएको छ ।’
साङ्घाई इतिहास सङ्ग्रहालयका प्रमुख चउ छुनह्वाले साङ्घाई र काठमाडौँ हजारौँ माइल टाढा भए तापनि यी दुई सहरहरूबिच गहिरो सम्बन्ध रहेको बताउनुभयो । उहाँले प्राचीन रेशम मार्गले नेपाल र चीनलाई विगतमा एकअर्कामा परिचित हुन मद्दत गरेको धारणा राख्दै वर्तमान परिप्रेक्ष्यमा संस्कृतिका साथै आर्थिक क्षेत्रहरूमा पनि नियमित आदान–प्रदानले गर्दा यी दुई सहरहरूको सम्बन्ध अझ प्रगाढ भएको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक नयाँ वर्षको चित्रले उज्यालो र गहिरो रङहरू, संवेदनशील र जीवन्त रेखाचित्रहरू र विविध विषयवस्तुहरूको विशेषता बोकेको हुन्छ । प्रदर्शनीमा राखिएका चित्रकलाले पौराणिक कथाहरूदेखि दैनिक जीवनका झलकहरूसम्म, ओपेरा कथाहरूदेखि चिनियाँ शुभ प्रतीकहरूसम्म यी चित्रहरूले चिनियाँ जनताको बौद्धिक सिर्जनशीलतालाई उजागर गर्दै परम्परागत चिनियाँ संस्कृतिको गहिरो मर्मलाई झल्काउँछ ।’
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरू, चिनियाँ कलाकारहरू, विभिन्न क्षेत्र तथा सङ्घ–संस्थालाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूको सहभागिता रहेको थियो ।

