काठमाडौँ महानगरपालिका शिक्षा विभागको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा महानगरअन्तर्गतका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम/कार्यक्रममा विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको प्रदर्शनीको उद्घाटन शुक्रवार (२०८१ वैशाख २८ गते) प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गर्नुभयो । कुलपति हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले शिक्षा र सिप, कला र सिर्जनाबिच अन्योन्याश्रित सम्बन्ध रहेको धारणा राख्नुभयो । हार्तम्छालीले यस कार्यक्रममा जोडिने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सिपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको बताउनुभयो । उहाँले महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीरूले तयार गरेका १२ सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले कार्यक्रम सुरुमा गाह्रो देखिएता पनि त्यसको नतिजा देख्दा खुसी लागेको बताउनुभयो । ‘कार्यक्रम एकदमै राम्रो लाग्यो । यसमा प्रत्यक्ष अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद’, उहाँले भन्नुभयो ।
काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले महानगरको नेतृत्वको भिजनलाई आत्मसाथ गरेर काम अघि बढाई त्यसलाई यथार्थमा बदल्न प्रतिष्ठानसँग सहकार्य गरेको बताउनुभयो । उहाँले विद्यार्थीले सिकेका कलासम्बन्धी ज्ञान दैनिक जनजीवनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएको बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन विद्यार्थी, प्रशिक्षक, सहप्रशिक्षक र विद्यालय परिवारलगायत सबैको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो ।
वैशाख ३० गतेसम्म चल्ने प्रदर्शनीमा विश्व निकेतन मा. वि, रत्नराज्य मा.वि., ज्ञानोदय मा.वि., तरुण मा.वि, गीतामाता मा.वि., कन्या मन्दिर मा.वि., शहिद शुक्र मा.वि., पद्मकन्या विद्याश्रम मा.वि र कोटेश्वर सरस्वती मा.वि.का विद्यार्थीहरूले सिर्जना गरेका कलाकृति राखिएको छ ।