काठमाडौँ महानगरपालिका शिक्षा विभागको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा महानगरअन्तर्गतका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम/कार्यक्रममा विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको प्रदर्शनी आइतबार (२०८१ वैशाख ३० गते) सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा महानगर उपप्रमुख सुनिता डङ्गोल उपस्थित हुनुहुन्थ्यो । उहाँले कलालाई करिअर तथा हविका रूपमा पनि लान सकिने बताउनुभयो । ‘विद्यार्थीले आफूसँग जे–जे क्षमता छ, त्यसैबाट सुरु गर्ने भन्ने सन्देश यस कार्यक्रमले दिएको छ । एक विद्यार्थीले अर्कोबाट सिक्ने प्लेटफर्म पनि भएको छ । अर्कोपल्ट यस कार्यक्रम अझ कस्तो होला भनेर म झन् उत्साहित छु । यसले राम्रो सन्देश दिएको छ । सबैलाई महानगरका तर्फबाट धन्यवाद ।’ प्रतिष्ठानसँग आगामी दिनमा कलासँग सम्बन्धित विविध कार्यमा महानगरपालिकाले सहकार्य गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले यस कार्यक्रमले ठुलो हौसला मिलेको बताउनुभयो । उहाँले कलाले सबै क्षेत्रमा प्रभाव पार्ने भएकाले यसको महत्त्व भएको धारणा राख्नुभयो । ‘हामीले काठमाडौँ महानगरपालिकासँग विभिन्न कार्यक्रमहरूमा सहकार्य गरेका छौँ र आगामी दिनमा गर्दै जाने छौँ । अहिले शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीहरूले हेर्ने दृष्टिकोण नै बदलिएको छ ।’
समापन समारोहमा तालिममा सहभागी प्रशिक्षक, सहप्रशिक्षकलाई प्रशंसा–पत्र तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो । वैशाख २८ गतेबाट सुरु भएको प्रदर्शनीमा विश्व निकेतन मा. वि, रत्नराज्य मा.वि., ज्ञानोदय मा.वि., तरुण मा.वि, गीतामाता मा.वि., कन्या मन्दिर मा.वि., शहीद शुक्र मा.वि., पद्मकन्या विद्याश्रम मा.वि र कोटेश्वर सरस्वती मा.वि.का विद्यार्थीहरूले सिर्जना गरेका १२ सय चित्र तथा मूर्तिकला राखिएको थियो । कार्यक्रमको संयोजन प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले गर्नुभएको थियो । त्यसैगरी, प्रदर्शनीको काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले अवलोकन गर्नुभयो ।