नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार (२०८१ मङ्सिर २३ गते ) ‘व्यवस्थापकीय प्राज्ञिक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । सो अभिमुखीकरणको पहिलो सत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य सचिव तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राध्यापक जगत्प्रसाद उपाध्यायले ‘प्राज्ञिक संस्थाको महत्त्व र प्राज्ञहरूको भूमिका’ दोस्रो सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखाका उपसचिव शिवराज रेग्मीले ‘प्रज्ञा–प्रतिष्ठानहरूको प्रशासनिक, आर्थिक, नीतिगत व्यवस्था तथा संस्कृतिसम्बन्धी विविध पक्ष’ तथा तेस्रो सत्रमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘ललितकलामा प्राज्ञिक नेतृत्व र योजनागत सुसोच’ विषयक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति, सदस्य सचिवसँगै प्राज्ञपरिषद् र सभाका सदस्यहरू तथा प्रतिष्ठानका कर्मचारीहरूको सहभागिता रहेको थियो ।