नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको सहआयोजना तथा बुटवल नगरपालिका, तिलोत्तमा नगरपालिकाको सहकार्यमा रुपन्देही उद्योग सङ्घ, बुटवलमा फागुन १० गतेबाट सुरु भएको ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ बुधवार (२०८१ फागुन १४ गते ) सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उप–प्रमुख सावित्रा देवी अर्यालले ललितकलाप्रति कलाकारहरूको उत्साह र जागरण देख्दा खुसी लागेको बताउनुभयो । उहाँले यस क्षेत्रको उत्थानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले केन्द्रदेखि स्थानीय तहमा कलाको पूर्वाधारका लागि जोड दिँदै इतिहासका विविध कलाको खोज र संरक्षण गरिनुपर्ने बताउनुभयो । मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रादेशिक ललितकला प्रदर्शनीले प्रदेशमा ललितकलाका विकासमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । समारोहमा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमख प्रदिप अधिकारी, कलाकार एच.बी. रम्तेल, नेपाल व्यावसायिक कलाकार सङ्घका अध्यक्ष दिलिप रसाली, लुम्बिनी प्रदेश सरकारका शिक्षा विज्ञ दलबहादुर गुरुङ, जनसांस्कृतिक महासङ्घका जिल्ला अध्यक्ष कविराज पोखरेललगायतसँगै विभिन्न कलाकार, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।